१६ असार २०८३, मंगलबार

प्रहरीमाथि आक्रमण, प्रतिकारमा प्रहरीले गोली चलाउँदा एक जना घाइते

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारस्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा सनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।

हमलापछि प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए । उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन् । घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको थियो । गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ भने घाइते प्रहरी असई तामाङको उपचार चुरेहिल अस्पतालमै भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेको थियो । टोलीले घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।