१५ असार २०८३, सोमबार

एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिएका छन् ।

वर्तमान उपाध्यक्ष रहेका शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवास लामिछाने र ईश्वर गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम भण्डारी र मोहन घले रहेका छन् । शेरचनले आगामी सन् २०२५–२७ कार्यकालका लागि माघ दोस्रो साता नै जापानमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

‘सुदृढ सङ्गठन, दरिलो एकताः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो उनी एनआरएनए नेतृत्वको दौडमा रहेका छन् । एनआरएनएको महाधिवेशन मार्च १४,१५ र १६ मा काठमाडौँमा हुँदैछ । शेरचनले ‘एक मन, एक सङ्गठन’ को अवधारणा अघि सार्दै उनले संस्थाभित्रको आन्तरिक कलह र मनमुटावलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने सङ्कल्प गरेका हुन् ।

यस्तै उनले गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दालाई विशेष प्राथमिकता दिएका छन्। करिब २०० वर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई पनि शेरचनले विशेष जोडका साथ उठाएका छन्।

बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई थप प्रभावकारी र सक्रिय बनाउने उनले बताएका छन् ।

आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्। नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारका लागि लबिङ गर्ने उनको योजना छ।

निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने शेरचनले वाचा गरेका छन्। ‘कम बोल्ने तर कामको नतिजा देखाउने’ छवि बनाएका उनले थाइल्याण्ड, म्यानमार लगायतका देशमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने र उनीहरूलाई नेपालको मूलप्रवाहसँग जोड्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन्।