१९ असार २०८३, शुक्रबार

सहिद सन्तोषका बाबुको पीडा– छोरा ढल्यो, बुढेसकालको सहारा टुट्यो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सन्तोष विश्वकर्माको घर उदयपुरको बेलका नगरपालिका–४ हरिपुरमा छ । जस्तापाताले छाएको सानो काठे घरमा बस्ने उनका ७८ वर्षीय पिता वर्गबहादुर विश्वकर्मा आज पनि छोराको सम्झनामा टोलाइरहेका छन् ।

परिवारको मुख्य सहारा बनेका कान्छा छोरा सन्तोषको मृत्यु भएपछि बुढेसकाल झन् कठिन बनेको उनी बताउँछन् । पाँच भाइ छोरामध्ये सन्तोष कान्छा थिए । अन्य छोराहरू आ–आफ्नो परिवार लिएर अलग बस्न थालेपछि बुढाबुढीको हेरचाहको जिम्मेवारी प्रायः सन्तोषकै काँधमा थियो । तर भदौ २३ गते काठमाडौंको बानेश्वर क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर सन्तोषको मृत्यु भएपछि परिवार एकाएक संकटमा परेको छ ।

“नातिनातिना पढाउन काठमाडौं गएको छोरो आन्दोलनमा जाँदा गोलीले ढल्यो,” वर्गबहादुरले दुःखेसो पोखे, “हामीलाई पाल्ने उही थियो, ऊ ढलेपछि हाम्रो सहारा नै टुट्यो ।”

सन्तोष काठमाडौंमा ज्याला मजदुरी गर्दै परिवारको खर्च टार्दै आएका थिए । त्यही कमाइबाट उनले आफ्ना छोराछोरीको पढाइ पनि चलाइरहेका थिए । अहिले पनि सन्तोषकी पत्नी अम्बिका विश्वकर्मा काठमाडौंमै बसेर छोराछोरीलाई पढाइरहेकी छन् । सन्तोषका एक १० वर्षका छोरा र एक ७ वर्षकी छोरी छन् ।

“छोरो ज्याला मजदुरी गथ्र्यो, त्यही कमाइले घर खर्च चलाउँथ्यो,” वर्गबहादुरले भने, “अहिले त्यो बाटो नै टुटेको छ । बुहारी काठमाडौंमै बसेर नातिनातिना पढाउँदै छिन्, तर यहाँ हाम्रो अवस्था निकै गाह्रो भएको छ ।” परिवारको आर्थिक अवस्था पहिले पनि कमजोर थियो । वर्गबहादुरका अनुसार परिवारसँग करिब १०–१२ धुर ऐलानी जग्गा मात्र छ । त्यही सानो जमिनले गुजारा गर्न कठिन भएकाले उनको परिवार अरूको खेत अधिया गरेर जीवन धान्दै आएको थियो ।

“हामीसँग आफ्नै भनेर खासै जग्गा छैन,” उनले भने, “यहाँ १०–१२ धुर ऐलानी जग्गा मात्रै छ । अरूको खेत अधिया गरेर परिवार पाल्दै आएका मान्छे हौँ । छोरो बाँचुन्जेल केही सहारा थियो, अहिले त झन् गाह्रो भएको छ ।” सन्तोषको मृत्युले परिवारलाई आर्थिक मात्र होइन, भावनात्मक रूपमा पनि ठूलो चोट दिएको छ । बुढेसकालमा सहारा दिने व्यक्ति गुमाउँदा उनीहरू एक्लोपन र असुरक्षाको भावनामा बाँच्न बाध्य भएका छन् ।

वर्गबहादुरले जेनजी आन्दोलनका क्रममा भएको घटनामा निष्पक्ष छानबिन गरी न्याय दिनुपर्ने माग गरेका छन् । उनका अनुसार आन्दोलनको मुख्य उद्देश्य देशमा फैलिएको भ्रष्टाचार अन्त्य गर्नु र भ्रष्टाचारमा संलग्न उच्च तहका व्यक्तिहरूलाई कानुनी कारबाही गर्नु थियो ।

“जेनजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार अन्त्य र भ्रष्टाचारीलाई कडा कारबाही गर्नु हो,” उनले भने, “देशमा फैलिएको उच्चस्तरीय भ्रष्टाचार अन्त्य हुनुपर्छ र दोषी राजनीतिक नेताहरूलाई कानुनअनुसार कारबाही हुनुपर्छ ।” उनका अनुसार अब बन्ने सरकारले पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकता छ । राज्य सञ्चालन पारदर्शी हुनुपर्ने र निर्णय प्रक्रियामा जनताको निगरानी रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।

“सरकार पारदर्शी हुनुपर्छ,” उनले भने, “निर्णय कसरी हुन्छ भन्ने कुरा जनताले देख्न पाउने अधिकार हुनुपर्छ ।” वर्गबहादुरले पुरानो राजनीतिक नेतृत्वबाट जनताले धेरै अपेक्षा गर्न नसकेको भन्दै नयाँ पुस्ताको नेतृत्व उदाउनुपर्ने बताए । उनका अनुसार जेनजी आन्दोलनले पनि त्यही परिवर्तनको सन्देश दिएको थियो ।

“पुरानो राजनीतिक नेतृत्वबाट देशले धेरै पायो जस्तो लाग्दैन,” उनले भने, “अब नयाँ नेतृत्व आउनुपर्छ । जेनजी सहिदहरूले पनि यही सपना देखेका थिए ।” उनले जेनजी आन्दोलनपछि बनेको राजनीतिक शक्तिले चुनाव जितेको समाचार आफूले सुनेको बताए । स्थानीय रूपमा ‘घण्टी’ चुनाव चिह्न भएको दलले विजय हासिल गरेको चर्चा गाउँमा चलेको उनी बताउँछन् ।

“जेनजीको पार्टी भनेको घण्टी हो भनेर सुनेको थिएँ,” उनले भने, “अहिले यस क्षेत्रमा घण्टीले जितेको छ रे भन्ने सुनियो ।” तर चुनावअघि आफूहरूलाई भेट्न कोही पनि नआएको गुनासो पनि उनले गरे । “पहिला भोट माग्न पनि आएनन्,” उनले भने, “जितेपछि अब आउलान कि नआउलान, थाहा छैन ।” यद्यपि, आफ्नो परिवारले छोराको न्यायको आशामा त्यही दललाई मत दिएको उनी बताउँछन् । “हामीले छोराको न्यायका लागि घण्टीमै भोट हालेऔँ र न्यायको आशा गरेका छौँ,” उनले भने ।

वर्गबहादुरका अनुसार सन्तोषमाथि गोली चलाउनेमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने नै परिवारको मुख्य माग हो । “मेरो छोरालाई गोली चलाउनेमाथि कारबाही हुनुपर्छ,” उनले भने, “छोराको मृत्यु व्यर्थ नहोस् भन्ने हाम्रो चाहना हो ।” अहिले बेलका–४ हरिपुरको सानो घरमा बस्ने वृद्ध दम्पती छोराको सम्झना र न्यायको आशामा दिन बितारहेका छन् । आर्थिक कठिनाइ, पारिवारिक पीडा र न्यायको प्रतीक्षाबीच पनि उनीहरूलाई छोराको बलिदानले देशमा केही परिवर्तन ल्याउने विश्वास अझै बाँकी छ ।