१ श्रावण २०८३, शुक्रबार

इजरायली सेनाले लेबनानमा ‘सेतो फस्फोरस’ प्रयोग गरेको आरोप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानवाधिकार समूह ‘ह्युमन राइट्स वाच’ले इजरायली सेनाले लेबनानमा सेतो फस्फोरसयुक्त गोलाहरू प्रयोग गरेको आरोप लगाएको छ ।

ह्युमन राइट्स वाचले आफ्नो एक प्रतिवेदनमा इजरायली सेनाले दक्षिणी लेबनानको योहमोरमा गैरकानुनी रूपमा सेतो फस्फोरसयुक्त गोलाहरू प्रहार गरेको आरोप लगाएको हो ।

सातवटा तस्बिरहरूको अनुसन्धान र जियोलोकेसनमार्फत् ह्युमन राइट्स वाचले इजरायलले आवासीय क्षेत्रहरूमा यो विवादित प्रज्वलनशील हतियारको प्रयोग गरेको बताएको छ ।

घना बस्ती भएका क्षेत्रहरूमा सेतो फस्फोरसजस्तो रसायनको प्रयोग अन्तर्राष्ट्रिय कानुनअन्तर्गत अवैध मानिन्छ । यो रसायनले भवनहरूमा भीषण आगलागी गराउने मात्र नभई, मानिसको शरीरको छालालाई हड्डीसम्मै जलाउन सक्ने बताइएको छ । यसको संर्सगमा आउने मानिसहरूलाई सामान्य घाउ लाग्दा पनि गम्भीर संक्रमण, श्वासप्रश्वाससम्बन्धी रोग वा अंगहरू फेल हुने जोखिम रहन्छ ।

इजरायली सेनाले यो प्रतिवेदनमाथि कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, इजरायलले सधैँ उसले सेतो फस्फोरसको प्रयोग नागरिकहरूलाई निशाना बनाउनका लागि होइन, बरु युद्धको मैदानमा केवल ‘स्मोक स्क्रिन’ (धुवाँको पर्दा) बनाउनका लागि मात्र गर्ने तर्क दिँदै आएको छ ।

अर्कोतर्फ, ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेशनल जस्ता संगठनहरूले एक वर्षअघि नागरिकहरू भएको स्थानमा हिजबुल्लाहसँगको युद्धमा पनि इजरायलले धेरैपटक यसको प्रयोग गरेको बताएका छन् ।