मकवानपुर । नेकपा (एमाले) मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्।
तत्कालीन नेकपा समाजवादीबाट एमालेमा फर्किएर जिल्ला अध्यक्षमा निर्वाचित भएका पोखरेल पछिल्लो करिब छ महिनादेखि जिल्ला नेतृत्वको जिम्मेवारीबाट अलगजस्तै रहँदै आएका थिए। उनी पछिल्ला चुनावी गतिविधिहरूमा समेत सक्रिय देखिएका थिएनन्।
२१ फागुनमा सम्पन्न निर्वाचनमा जिल्लामा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै पोखरेलले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन्। उनले एमाले यसअघि दोस्रो ठूलो दल भए पनि यसपटक तेस्रो बन्ने स्थितिमा पुगेको उल्लेख गर्दै पराजयको जिम्मेवारी पार्टीका शीर्ष नेताहरूले लिनुपर्ने बताएका छन्।
पोखरेलले पार्टीलाई सही दिशामा अघि बढाउन अध्यक्षदेखि महासचिवसम्म सबैले आत्मसमिक्षा गर्नुपर्ने र आवश्यक परे जिम्मेवारीबाट अलग हुँदै पार्टी पुनर्गठनको बाटो खोल्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
‘पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने नेतृत्वले वास्तविकता स्वीकार गर्दै जिम्मेवारी लिनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसै सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु।’
तर, एमाले मकवानपुरका एक जिल्ला नेताका अनुसार पोखरेल चुनावी अभियानमा सक्रिय देखिएका थिएनन्। ती नेताले भने, ‘उहाँ दुर्घटनामा परेर घाइते भएपछि बिरामी पनि हुनुहुन्थ्यो। निर्वाचन अवधिभर जिल्लाका कार्यक्रमहरूमा देखिनुभएन।’
पोखरेल एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा समेत पराजित भएका थिए। त्यसपछि उनी पार्टी काममा निष्क्रिय थिए ।








प्रतिक्रिया