१५ असार २०८३, सोमबार

रौतहटमा मतदान जारी, १० हजार सुरक्षाकर्मी परिचालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो ।

बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन् । मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा रणनीतिअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् भने बाहिरी घेराको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनाले सम्हालेका छन् ।

निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरूलाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

रौतहट जिल्लामा यसपटक कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन् । प्रशासनले कुनै पनि भय वा त्रास नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन आम जिल्लाबासीलाई आग्रह गरेको छ ।

मतदान कार्य आज बेलुका ५ बजेसम्म जारी रहनेछ ।