२८ असार २०८३, आइतबार

श्रीलंकाको तटनजिकै इरानी नौसेनाको युद्धपोत ध्वस्त, १०१ जना बेपत्ता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रीलंकाको तटनजिकै इरानी जहाजमाथि भएको एक पनडुब्बी आक्रमणपछि कम्तीमा १०१ जना बेपत्ता भएको बुधबार श्रीलंकाली नौसेना र रक्षा मन्त्रालयका स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

अमेरिकी रक्षासचिव पिट हेगसेथले श्रीलंकाको तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक अमेरिकी पनडुब्बीले टर्पिडो प्रहार गरी इरानी युद्धपोतलाई डुबाएको बताएका छन् ।

बुधबार पेन्टागनमा आयोजित ब्रिफिङका क्रममा हेगसेथले इरानी युद्धपोतमाथि गरिएको यो आक्रमण दोस्रो विश्वयुद्धपछि शत्रु राष्ट्रमाथि गरिएको यस प्रकारको पहिलो आक्रमण भएको बताए ।

आईआरआईएस डेना नामको यो युद्धपोत करिब ९४ मिटर लामो थियो । क्षेप्यास्त्र र हेलिप्याडद्वारा सुसज्जित यो युद्धपोत सन् २०१० देखि इरानी नौसेनाको हिस्सा रहँदै आएको थियो । रिपोर्टका अनुसार, आक्रमणको समयमा जहाजमा १८० जना नौसैनिकहरू तैनाथ थिए ।

बुधबार श्रीलंकाली नौसेनाका प्रवक्ताले सुरुमा १०१ जना बेपत्ता भएको रिपोर्टहरूलाई गलत बताएका थिए । तर, त्यसपछि नौसेनाका स्रोतले रोयटर्ससँग भने, “अहिले हामीलाई थाहा भएसम्म ७९ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको बताएका छन् । उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बाँकी १०१ जना बेपत्ता भएको मानिएको छ र जहाज डुबिसकेको छ ।”

श्रीलंकाका विदेशमन्त्रीले पनि संसद्मा जानकारी दिँदै जहाजबाट आपतकालीन सन्देश प्राप्त भएपछि बिहान करिब ६ बजे राहत तथा उद्धार अभियान सुरु गरिएको बताए ।

विदेशमन्त्री विजिता हेरातले यस आक्रमणविरुद्ध कारबाही गर्ने घोषणा समेत गरेकी छन् । श्रीलंकाली अधिकारीहरूका अनुसार, यस घटनामा एकजनाको मृत्यु भएको छ ।