२९ आश्विन २०८३, बिहिबार

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य सूर्य थापा को घरदैलो अभियानमा सहकारी विज्ञ टिकाराम पोख्रेलले साथ दिएका छन् । सोमबार प्यूठान नगरपालिका–८ को मुख्य बजार केन्द्र बाग्दुलामा पुगेका पोख्रेलले थापाको अभियानमा सहभागी हुँदै साथ दिएका हुन् ।

पोख्रेल नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष हुन् । उनी तत्कालीन प्रेस सेन्टर नेपाल प्यूठानका अध्यक्ष र लुम्बिनी प्रदेश कमिटीका पूर्व सचिवसमेत भइसकेका छन्। पूर्व माओवादी निकट विद्यार्थी नेता रहेका पोख्रेल हाल नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य छन् । उनी प्यूठान नगरपालिका–७ टिकुरी निवासी हुन् ।

लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय पोख्रेलले थापा संयोजक रहेको समस्याग्रस्त सहकारीहरूको अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले आफू प्रभावित भएको बताएका छन् । थापा २०७९ मा पहिलोपटक प्यूठानबाट संघीय सांसदमा निर्वाचित भएका थिए र प्रतिनिधिसभाले बहुमतका साथ उनलाई सहकारी छानबिन समितिको संयोजक बनाएको थियो ।

पोख्रेलले भने, “उनको नेतृत्वमा बनेको समितिको प्रतिवेदनले देशभित्र मात्र होइन, विदेशमा पनि चर्चा पायो। देशभरका सहकारीको बेथिति प्रतिवेदनले छर्लङ्ग पारेको छ। सहकारी ठगीको पहिचान र बचतकर्ताको रकम फिर्ताका लागि ठोस सुझाव सरकारलाई दिएको छ। काम गर्ने मान्छेलाई सबैले साथ दिनुपर्छ ।”

उता उम्मेदवार थापाले पोख्रेलको साथले आफू थप उत्साहित भएको प्रतिक्रिया दिएका छन् । पोख्रेल २०५७ सालमा अनेरास्ववियु का तर्फबाट स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको सभापतिमा निर्वाचित भएका थिए । उनको सक्रियताले प्यूठानको चुनावी माहोल थप तातेको बताइएको छ ।