३० आश्विन २०८३, शुक्रबार

मध्यपूर्वमा तनावका कारण विभिन्न राष्ट्रका ’एयर स्पेस’ बन्द

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेसँगै विभिन्न राष्ट्रले आफ्नो एयर स्पेस बन्द गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो एयर स्पेस आंशिक रूपमा बन्द गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमणपछि सुरु भएको इरानको जवाफी आक्रमणका कारण मध्यपूर्वमा आकाशमा समस्या भएको हो । यूएईको नागरिक उड्डयन प्राधिकरणले उडान र उडानकर्मीको सुरक्षाका लागि आंशिक रूपमा हवाई क्षेत्र बन्द गरेको जनाएको छ ।

कतार एयरवेजले पनि कतारको आकाश क्षेत्र बन्द गरिएकाले दोहाबाट आउने–जाने आफ्ना उडान अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।

“सामान्य सञ्चालन पुनः सुरु भएपछि उडान तालिकामा ढिलाइ हुन सक्ने अपेक्षा गरेका छौँ,” कतारको समाचार संस्था द पेनिनसुलाले लेखेको छ, “प्रभावित यात्रुहरूलाई सहयोग गर्न हमाद अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य प्रमुख विमानस्थलहरूमा थप ग्राउन्ड स्टाफ परिचालन गरेका छौँ ।”

कुवेतको नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना नआएसम्म इरानतर्फ हुने सबै उडानहरू रोक्ने निर्णय गरेको छ । यस्तै, ओमान एयरले क्षेत्रीय परिस्थितिका कारण बग्दादतर्फका आफ्ना सबै उडान स्थगित गरिएको जानकारी दिएको छ ।

यता नेपालमा भने हालसम्म कुनै पनि फ्लाइटको तालिका केही परिवर्तन नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्रवक्ता सन्तुष्ट कुमार बस्नतेका अनुसार हालसम्म कुनै पनि फ्लाइटको तालिका तलमाथि भएको छैन । उनका अनुसार नेपालबाट मध्यपूर्वतर्फ गएका विमानहरूले भने इरानको आकाश छलेका छन् ।