८ असार २०८३, सोमबार

झापा–५ : बालेनले घोषणापत्रमा ‘औद्योगिक पार्क’ नसमेटेपछि भारतमा खुसीयाली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा–५ का उम्मेदवार बालेन साहले आफ्नो घोषणापत्रमा चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतको ‘औद्योगिक पार्क’लाई नसमेटेको भन्दै भारतमा खुसीयाली छाएको छ ।

साहले आफ्नो चुनावी घोषणापत्रबाट नेपाल–चीन मित्रताको प्रतीक झापामा रहेको अर्बौं रुपैयाँको औद्योगिक पार्कलाई हटाएकाले भारतका लागि यो खुसीको खबर भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले समाचार बनाएको छ ।

चिकेन नेक पर भारत के लिए नेपाल से खुशखबरी, बालेन साह ने चीन के बीआरआईको दिया झटका, ओली के मंसूबे होंगे फेल’ अर्थात् ‘चिकेन नेकमा भारतका लागि खुसीको खबर, बालेन साहले चीनको बीआरआईलाई दिए झट्का, ओलीको योजना फेल हुने’ शीर्षकमा नवभारत टाइम्सले समाचार बनाएको हो ।

झापा–५ स्थित कमल, दमक र गौरादहको ठूलो भू–भागमा बन्न लागेको यो परियोजना चिनियाँ राष्ट्रपति सी जिनपिङको बीआरआई कार्यक्रमको एक हिस्सा हो । यसको शिलान्यास पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आफ्नो ४१ बुँदे प्रतिबद्धता पत्रमा औद्योगिक पार्कलाई प्राथमिकता दिएका छन् । तर रास्वपाका वरिष्ठ नेता समेत रहेका साहले जारी गरेको प्रतिबद्धता पत्रमा औद्योगिक पार्क समेटिएको छैन ।

नेपाल–भारत सीमा नजिकै चिनियाँ सहयोगमा यहाँ बन्ने औद्योगिक पार्क भारतका लागि संवेदनशील रहेको भारतीय पक्षले दाबी गर्दै आएको छ ।

यता, पार्कका अध्यक्ष गोविन्द थापाले बालेनले घोषणापत्रमा औद्योगिक पार्कको उल्लेख नगर्नुको कारण नेपालमा चिनियाँ लगानी रोक्नु रहेको टिप्पणी गरेका छन् ।

‘झापामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक र हाइटेक औद्योगिक पार्क बन्दा नेपालका सबै जनतालाई फाइदा हुने हो । यस्तो परियोजनाको विरुद्धमा रास्वपा पार्टी किन खुलेर लागेको हो ? यो क्षेत्रमा उम्मेदवार बन्न आउनुभएका बालेन साहले आफ्नो बाचापत्रमा औद्योगिक पार्कको उल्लेख नै गर्नुभएन ।’ थापाले फेसबुकमा लेखेका छन्, ‘उहाँहरु नेपालमा चिनियाँ लगानी निषेध गर्ने अभियानमा हुनुहुन्छ, झापामा पनि निषेध गर्ने नीति लिनुभयो । औद्योगिक पार्कको विरुद्धमा कुनकुन विदेशी शक्ति लागेका छन् भन्ने झापाली जनताले बुझेका छन् । ती विदेशी शक्ति जे चाहन्छन्, बालेनले त्यही नीति लिनु संयोग मात्र हो त ? पक्कै होइन ।’

अध्यक्ष थापाले खासखास देशको लगानी आउन दिने, लगानीका नाममा ती देशका सेना समेत नेपालमा ल्याउने तर चिनियाँ लगानी आउन नदिने नीतिले नेपालको भलो नगर्ने बताए ।

‘यस्तो नीति लिनु भनेको नेपाललाई युक्रेन बनाउनु हो । अब झापाली जनताले अति, अति, अति नै गम्भीर हुनुपर्ने बेला आयो । अब यो चुनाव उम्मेदवार र पार्टी छान्ने विषय मात्र रहेन, राष्ट्रियता र देशको अस्तित्वको विषय पनि बन्न गएको छ ।’ थापाले भनेका छन् । साथै, अध्यक्ष थापाले औद्योगिक पार्क निर्माण गर्ने प्रतिज्ञा समेत लिएका छन् । ‘जसले जति बाधा दिए पनि, जति विरोध गरे पनि, स्वदेशीले छेकबार लगाए पनि, विदेशीले षडयन्त्र गरे पनि औद्योगिक पार्क निर्माण रोक्न दिँदैनौँ । बनाएर छाड्ने प्रतिज्ञा गर्दछौँ ।’