१ असार २०८३, सोमबार

बोलिभियामा नोटले भरिएको सैन्य विमान दुर्घटना, १५ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बोलिभियाको राजधानी ला–पाजनजिक विमान दुर्घटना भएको छ । एक मालवाहक (कार्गो) विमान उडान भरेको केही मिनेटमै दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

दुर्घटनामा विमान रनवेबाट चिप्लिएर नजिकैको सहर एल आल्टोस्थित एक राजमार्गमा पुगेको थियो । त्यहाँ गुडिरहेका धेरै सवारीसाधनलाई विमानले ठक्कर दिएको थियो ।

अधिकारीहरूका अनुसार, शुक्रबार भएको उक्त दुर्घटनामा कम्तीमा १५ वटा सवारीसाधनमा क्षति पुगेको छ । मृत्यु हुनेहरू विमानमा सवार थिए वा गाडीमा सवार थिए भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन ।

उक्त विमान बोलिभियाली वायुसेनाको ‘हर्कुलस’ विमान रहेको बताइएको छ । यो विमानले देशको केन्द्रीय बैंकबाट छापिएका नयाँ नोट अन्य सहरमा लैजाँदै थियो । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । तर, दमकलकर्मीहरूले ठूलो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा सडकमा विमानको भग्नावशेष, पूर्ण रूपमा ध्वस्त भएका गाडी तथा छरिएका नोट देखिन्छन् ।

दुर्घटनापछि पैसा एयरपोर्टबाहिर फैलिएको थियो, जसलाई संकलन गर्न सयौँ मानिस घटनास्थल पुगेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दंगा–नियन्त्रण उपकरण प्रयोग गर्नुपरेको थियो ।

दुर्घटनापछि प्रशासनले सबै उडान अस्थायी रूपमा स्थगन गरेको छ । हाल दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।