दमक । झापाको कमल गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिम्ले बस्ती रतुवा र चाँजु खोलाको टापुको रुपमा रहेको छ । केही वर्ष अघिसम्म यहाँका बासिन्दामा रतुवाको बाढीमा ज्यान दाउमा राखेर बजार धाउनु पर्ने अवस्था थियो । तर रतुवा खोलामा पक्की पुल बने र सडक समेत कालोपत्रे भएपछि यो समस्या समाधान भएको छ ।
स्थानीय वृद्ध केदारनाथ खतिवडाको अनुभवमा सुविधाका हिसावले यो ठाउँनै नयाँ बनेको छ । केही वर्ष अघि करतुवामा पुल नहुँदा खोलामा ज्यान हत्केलामा राखेर दमकसम्म पुग्नु पथ्र्यो । अचेल त्यो समस्या छैन । सोच्दै नसोचेको परिवर्तन उनले आफैले देख्न र भोग्न पाएका छन् । उनले भने, ‘केपी ओलीले यहाँ यत्रो विकास गरिदिनु दिनुभएको छ, उहाँलाई भोट नदिएर कस्लाई दिनु त ?’

यसै ठाउँकी रिमैमायाँ गौतमलाई कयौं पटक खोलाले बगाएको दुःखद अनुभव छ । तर यो समस्या हटेपछि उनलाई आफ्नै ठाउँ पनि नयाँ झैं लागेको छ ।
‘घाँस दाउरा गर्दा खोलाले कति पटक बगायो’ उनले भनिन्, ‘अरु भन्दा पनि सुत्केरी व्यथा लागे पछि कालनै आए जस्तो हुन्थ्यो, पारी दमक तिरका अस्पतालमा लान खोलासँगै लडाइँ खेल्नु पथ्यो ।’ अहिले भने रतुवामा पक्की पुल छ, घरै अघि कालोपत्रे बाटो छ । मध्यरातमा भए पनि १० मिनेटमा अस्पताल सजिलै पुग्न सकिन्छ । कालोपत्रे सडक र पक्की पुलले यहाँ त्यसै खेर जाने बाँसले पनि मूल्य पाएको छ ।
यस्तै, उत्पादन गरेर पनि बजार सम्म पुर्याउन कठिन हुने तरकारी पनि बारीबाटै बिक्न थालेको छ ।
यसैगरी, सयौं सर्वसाधारणका लागि स्वरोजगारीको माध्यम बनेको सिटी सफारी र अटो सञ्चालनले दैनिकीलाई निक्कै सजिलो पारेको छ । अटो चालकहरु पनि सडकका कारण यातायात सञ्चालनमा सहजता आएको यहाँ अटो चलाएर आइपुगेका दोणबहादुर दनुवारले बताए ।

सिम्लेकी बासिन्दा हरिमायाँ खड्काको भने दुखद् अनुभव पनि छ । केही वर्ष अघि आफैं बिरामी हुँदा छोराले बाढीमा दुवै जनाको ज्यान दाउमा राखेर बोकेर खोला तार्नु परेको थियो । तर अहिले घरै अघि कालोपत्रे छ र चाहेको बेला सिटी सफारी, अटो लगायतका सवारी साधन चाहेको समयमा पाइन्छ । ‘केपी ओलीको अगुवाई र सुवासचन्द्र नेम्वाङ्को साथले सिम्लेले काँचुली फेरेको छ’ उनले भनिन्, ‘अब यहाँको बसोबासको समस्या पनि समाधान हुनेमा हामी ढुक्क छौँ ।’

यहाँका बासिन्दाको अबको माग अव्यवस्थित बसोबासको समस्या समाधान गर्नु छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहाँ पुग्दा स्थानीयले उनीसमक्ष पनि यही माग राखेका छन् ।
सिम्लेबासीका घरै अघिसम्म कालोपत्रे सडक समेत पुगेपछि अत्यावश्यकीय सेवाका लागि दमकसम्म आउन पनि सजिलो छ । सडक र पुल निर्माण पछिको सुविधासँगै यहाँ स्वरोजगार हुने अवसर पनि विभिन्न अवसर खुलेका छन् । गाउँमानै सानातिना होटल, चियापसल तथा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता छ ।








प्रतिक्रिया