दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताएका छन् । नेकपा (एमाले)लाई बहुमतसहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले समेत बुझिसकेको उनले जनाए ।
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका अध्यक्ष ओलीले विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै चुनावपछि देश सम्हाल्न एमाले तयार रहेको समेत बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्वन्ध तथा विकास र समृद्धिका लागि निर्वाह गरेको भूमिका कारण एमालेनै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका ओली हाल निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् ।
यसैक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार झापाको कमल–५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भूमिसम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका छन् । सडक तथा पुल निर्माण भएपछि जनजीवन सहज भए पनि अझैसम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए ।
यस्तै, अध्यक्ष ओली कमल–३ को सानो केर्खामा पुग्दा स्थानीय किरातेश्वर तथा वाल्मीकि आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिन स्थानीयले माग गरेका थिए । यी स्थानहरुको पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाई छ ।
यस्तै, अध्यक्ष ओली कमल–५ को झारबारीमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी भए ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री ओली केही दिन यता गृहनिर्वाचन क्षेत्र केन्द्रित रहेका छन् ।















प्रतिक्रिया