१९ असार २०८३, शुक्रबार

डिजिटल लिडरसीप डायलग भोलि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा ‘डिजिटल लिडरसीप डायलग’को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

आइसिटी फाउन्डेसन नेपालले फागुन १५ गते शुक्रबार नक्सालस्थित लिसारा रिसेप्सनमा ‘उम्मेदवार मेला २०२६’अन्तर्गत डिजिटल लिडरसीप डायलग आयोजना गर्न लागेको हो । कार्यक्रम बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा समावेश गरेका सूचना प्रविधि र डिजिटल रूपान्तरणसम्बन्धी प्रतिबद्धताहरूलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा केन्द्रित छलफल हुनेछ । सुरुवातमा घोषणापत्रका विषयवस्तुमाथि समग्र बहस गरिनेछ भने त्यसपछि दुई वटा प्यानल संवाद सञ्चालन हुनेछन् ।

पहिलो प्यानल संवादमा डिजिटल प्रतिबद्धताको कार्यान्वयन, जवाफदेहिता, बजेट विनियोजन तथा सुशासनका आयाममाथि विस्तृत छलफल गरिनेछ । दोस्रो प्यानल छलफल युवा नेतृत्व र डिजिटल एजेन्डामा केन्द्रित हुनेछ, जसमा आसन्न निर्वाचनको सन्दर्भमा युवाको भूमिका र डिजिटल प्राथमिकताबारे बहस हुनेछ । कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र तथा समापनसँगै निष्कर्ष प्रस्तुत गरिनेछ ।

कार्यक्रममा राजनीतिक दल, उम्मेदवार, विज्ञ, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ । यसअघि फाउन्डेसनले माघ २२ गते पहिलो संस्करणको डिजिटल लिडरसीप डायलग आयोजना गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्रमा समावेश गर्नुपर्ने डिजिटल एजेन्डामाथि फोकस ग्रुप छलफल, विज्ञ प्रस्तुति र प्यानल डिस्कसन सञ्चालन गरेको थियो। साथै सातै प्रदेशका उम्मेदवारहरूसँग भर्चुअल संवादमार्फत डिजिटल रूपान्तरणका चुनौती र समाधानका विषयमा छलफलसमेत गरिएको थियो ।

फाउन्डेसनका अनुसार यस कार्यक्रमले डिजिटल रूपान्तरण, नीति निर्माण र प्रभावकारी कार्यान्वयनबीचको खाडल कम गर्दै व्यावहारिक परिणाम हासिल गर्ने दिशामा सार्थक संवाद अघि बढाउने विश्वास लिएको छ ।