१५ असार २०८३, सोमबार

आइएमई र साउदीको टिक्मोबीच डिजिटल कारोबार विस्तारको सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ ।

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत नगदरहीत समाजतर्फ लम्किरहेको छ । अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ । यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम आइएमई र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मो बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ ।

नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको छ जसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको कम्पनीको भनाइ छ ।

आइएमई र टिक्मोबीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ।

सम्झौता भएसँगै आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक गरेको छ । यही पुस २१ देखि चैत्र १७ सम्म सञ्चालनमा रहने यो योजनाअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।