२८ आश्विन २०८३, बुधबार

एक वर्षको कैद सजाय पाएका १८ नेपालीलाई आममाफी दिन म्यानमार तयार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्यानमारले १८ नेपाली कैदीलाई आममाफी दिन सकारात्मक रहेको सन्देश नेपाललाई दिएको छ ।

“म्यानमार सरकारले त्यहाँको एक अदालतले एक वर्षको कैद सजाय सुनाएका १८ जनालाई सजाय माफी मिनाहा दिने कुरामा सकारात्मक रहेको सन्देश पठाएको छ,” परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्यासेफिक महाशाखा प्रमुख प्रकाश अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “म्यानमारले यसलाई औपचारिकता दिन लिखित पत्र पठाउन अनुरोध गरेको छ ।” महाशाखा प्रमुख अधिकारीका अनुसार, अहिले परराष्ट्र पत्र पठाउने प्रक्रियामा छ ।

दलाल तथा एजेन्टको प्रलोभनमा म्यानमार पुगेका १८ नेपालीलाई गत माघको तेस्रो साता म्यानमारको एक अदालतले एक वर्षको श्रमसहितको कैद सजाय सुनाएको थियो ।

त्यसपछि म्यानमारस्थित नेपाली राजदूत हरिषचन्द्र घिमिरेले १८ नेपालीलाई दिइएको सजाय माफीका लागि पहल गरेका थिए । सोही क्रममा म्यानमार सरकारका प्रतिनिधिले नेपाल र म्यानमारबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गर्दै नेपालीलाई सजाय माफी दिन सकारात्मक रहेको जनाएका थिए ।

सोही क्रममा म्यानमार सरकारका प्रतिनिधिले अवैध रूपमा प्रवेश नेपालीलाई मात्र पक्राउ गरी सजाय नदिइएको स्पष्ट पारेका थिए । अवैध रूपमा म्यानमार प्रवेश गर्ने १८ नेपालीसहित १७ देशका ४९५ जनालाई पक्राउ गरिएको जानकारी राजदूत घिमिरेलाई दिइएको थियो ।

दलाल तथा एजेन्टले त्यहाँका स्क्याम सेन्टरमा काम लगाउन १८ नेपालीलाई लगेका थिए । म्यानमारको म्यावडी क्षेत्रमा गैरकानुनी तरिकाले सञ्चालित स्क्याम सेन्टरहरूमा कार्यरत उनीहरूलाई उद्धार गर्ने क्रममा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

केही साताअघि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट एक टोली उनीहरूलाई उद्धार गर्न म्यानमार बोर्डरनजिक गएको थियो । सोही क्रममा म्यावडीबाट थाइल्यान्ड सीमानजिक आइपुगेका उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई मुद्दा अघि बढाएको थियो ।

मानव तस्करहरूले ठूलो संख्यामा नेपालीलाई विभिन्न प्रलोभनमा पारेर म्यानमारको म्यावडी पु¥याउने गरेका छन् । म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटक–पटक यस्तो प्रलोभनमा नपर्न भन्दै सूचना जारी गरे पनि जानेक्रम रोकिएको छैन ।