काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार सोमबार भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो ।
सोमबार सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ । सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा सालपा विकास बैंकको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ । बैंकको शेयर मूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ । मेगा म्युचुअल फण्ड–१ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यता, एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य भने सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यसैगरी, रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। घटेका उपसमूहहरूको गिरावट दर पनि सामान्य नै रहेको छ ।








प्रतिक्रिया