काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ ।
सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ । दशैं–तिहारमा मात्र भरिने गाउँहरू अहिले चुनावी अभियान, भेटघाट र रणनीतिक दौडधुपका कारण फेरि जीवित देखिन थालेका छन् ।
निर्वाचनले नेपालको सामाजिक जीवनमा पनि एक विशेष प्रकारको चहलपहल देखिन थालेको छ । राजनीतिक दलका झण्डा, घरघरमा पुग्ने उम्मेदवार, गाउँमा फेरि सक्रिय हुने टोलभेला, चिया पसलमा बहस चुनावकै चलिरहेको छ ।
चुनावलाई राजनीतिक गतिविधी मात्र नभई सामाजिक पर्वजस्तै बनाइदिएको छ । मानिसहरु राजनीतिक चेतका साथ राजनीतिक दलका गतिविधि, संकल्प पत्र वा प्रतिबद्धता पत्रको छलफलले सामाजिक गतिविधि बढाएको देखिन्छ ।
तर चुनावको मुखैमा पनि लामो दूरीको यात्रा तय गर्ने सवारी साधनहरुमा यात्रुहरुको संख्या न्यून छ । यतिबेला पनि यात्रु चाप भने अपेक्षित रूपमा नबढेको यातायात व्यवसायीहरूको बताउँछन् ।
सुदूरपश्चिम क्षेत्रमा सेवा सञ्चालन गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कर्मचारी यादव गिरीका अनुसार अहिले यात्रु आवतजावत सामान्य अवस्थामा नै छ ।
उनले भने, ‘अहिले चुनावका लागि भनेर यात्रुहरूको भीड खासै देखिएको छैन । मानिसहरू फाट्टफुट्ट रूपमा मात्र गाउँतिर गइरहेका छन् । पहाडी भेगका केही मतदाता चुनावका लागि फर्किने क्रम सुरु भएपनि ठूलो लहर भने आएको छैन ।’
गिरीका अनुसार विगतका चुनावमा उम्मेदवारहरूले गाडी रिजर्भ गरेर आफ्ना समर्थकलाई गाउँ पठाउने चलन थियो । यसपटक पनि त्यो प्रक्रिया सुरु हुनसक्ने उनले बताए ।
उम्मेदवारहरूले गाडी रिजर्भ गरेर आफ्ना समर्थकलाई गाउँ पठाउँदा लामो यात्रा तय गर्ने सार्वजनिक सवारी साधन खाली जस्तै छन् भने बस पार्क सुनसान छ । उनले भने, ‘अझ दुई–चार दिनपछि उम्मेदवारहरूले गाडी रिजर्भ गर्न थाल्न सक्छन् । हामीलाई सम्पर्क गरी बाहिर–बाहिरबाट गाडी बुक गरी लैजाने देखिन्छ ।’
उनले चुनाव केन्द्रित यात्राका लागि टिकटको अग्रिम बुकिङ नखोलिए पनि अनलाइन बुकिङ भने खुला रहेको जानकारी दिए । ‘अहिले अनलाइन बुकिङ खुला छ तर चुनावलाई केन्द्रित गरेर अग्रिम टिकटको बुकिङ भने आएको छैन,’ उनले भने ।
कम्पनीका अनुसार काठमाडौंबाट छुट्ने अधिकांश गाडी रात्रि सेवामा सञ्चालन हुने गरेका छन् । दिनमा गाडी कम चल्ने भएकाले यात्रु व्यवस्थापन राति नै हुने गरेको छ । काठमाडौंदेखि धनगढीसम्मको भाडा २ हजार ८ सय ९५ रुपैयाँ रहेको गिरीले जानकारी दिए ।
यस्तै, कम्पनीका गाडीहरू अत्तरिया, टीकापुर हुँदै सुदूरपश्चिमका पहाडी जिल्लासम्म पुग्ने गरेका छन् । बाजुरा जाने भाडा करिब ४ हजार ५०० रुपैयाँ र बझाङ जाने भाडा करिब ४ हजार ४ सय ८५ रुपैयाँ रहेको उनले बताए ।
चुनाव नजिकिँदै जाँदा यात्रुको चाप बढ्ने आशा
मतदान मिति नजिकिँदै जाँदा यात्रु चाप बढ्न सक्ने यातायात व्यवसायीहरूको अनुमान छ । विशेषगरी उम्मेदवारहरूले समर्थकलाई गाउँ लैजाने चलन सुरु भएमा अचानक भीड बढ्ने सम्भावना रहेको गिरी बताउँछन् ।
गिरीका अनुसार कम्पनीसँग पर्याप्त गाडी भएकाले यात्रु व्यवस्थापनमा समस्या नहुने विश्वास गरिएको छ । चुनावले गाउँसँगको सम्बन्ध पुनर्जीवित गर्ने मात्र होइन सामाजिक मनोविज्ञान पनि जगाउँछ । मत हाल्न गाउँ फर्किनु कर्तव्य मात्र नभई मताधिकारसँग जोडिएको भावनात्मक पक्ष पनि हो । त्यसैले अहिले चाप कम देखिए पनि फागुन २१ अगाडि गाउँ फर्किने लहर तीव्र हुन सक्ने यातायात व्यवसायी कम्पनीको भनाइ छ ।









प्रतिक्रिया