२३ जेष्ठ २०८३, शनिबार

जनताको आशा र भरोसाको केन्द्र बने एमाले उम्मेदवार राना, सिंगो गाउँलेले गर्‍यो स्वागत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरगढी । फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ को चुनावी माहोल तातिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको दौडधुप मात्र बढेको छैन, गाउँबस्तीमा आश र भरोसाको सञ्चार पनि छाएको छ । यसै क्रममा नेकपा (एमाले)का उम्मेदवार रामेश्वर राना जब आइतबार मकवानपुरगढीको उकालो लागे । त्यहाँ केवल भोट माग्ने औपचारिकता मात्र देखिएन । उम्मेदवार र मतदाताबीचको आत्मीय सम्बन्धका रोचक दृश्यहरू पनि देखिए ।

बिहान मकवानपुरगढी–४, सामरी कुनाबाट रानाले हात जोड्दै भने, ‘नमस्कार, म रामेश्वर राना…..’ उनको परिचय पूरा नहुँदै एक पुरुषले भने, ‘हजुरलाई नचिन्ने को छ र ? हजुर कर्मठ, इमान्दार र निष्ठावान हुनुहुन्छ । यसपालि भोट हजुरलाई नै हो, ढुक्क हुनुस् ।’

किसानको यो भनाइमा पसलबाट सामानको झोला लिएर निस्किँदै गरेका अर्का अधबैँसे पुरुषले पनि सही थपे । बिहानको यो न्यानो संवाद र मनकामना मन्दिरको दर्शनपछि सुरु भएको रानाको यात्रा ठेकीचोक हुँदै रुद्रबाटिकातर्फ लम्कियो ।

रानाको घरदैलो अभियानमा तीन फरक पुस्ताको संगम देखियो । वडा नं. ३ को भानुचोक र मक्रान्चुली हुँदै देविडाँडा पुग्दा २१ वर्षीय नवयुवा सुमन घिमिरे भेटिए । उनले उम्मेदवारलाई ढाडस दिँदै भने, ‘यसपालि मेरो र मेरो परिवारको भोट अनुभवी नेतालाई नै हो ।’ यति मात्र होइन, उनी आफैं पनि अभियानमा सामेल भए ।

टोली जब वडा नं. २ को भालुन्टार, शिखरकटेरी र कुर्ले हुँदै अघि बढ्यो । त्यही क्रममा सयौं मतदाताबीच ७६ वर्षीय सान्तानाथ न्यौपाने भेटिए । शिखरकटेरी निवासी न्यौपानेले ज्येष्ठ नागरिकको भावना पोखे, ‘वृद्धभत्ता दिलाएर एमाले वृद्धवृद्धाको भरोसा बनेको छ, अब तपाईं सबै जनताको भरोसा बन्नेगरी काम गर्नुस् । आशिवाद, जितको शुभकामना । ’

घरदैलोको उत्कर्ष भने वडा नं. २ को ताप्लाखर्कमा देखियो । त्यहाँ पुग्दा सिंगो गाउँ नै रानाको स्वागतमा उठेको देखिन्थ्यो । स्थानीयले फूलमाला र घडा राखेर भव्य स्वागत गरे ।

स्वागत ग्रहणपछि कोणसभालाई सम्बोधन गर्दै रानाले अहिलेको राजनीतिमा चल्ने गरेको ‘नयाँ र पुरानो’ भन्ने बहसलाई निकै मार्मिक ढंगले चिरे । उनले प्रश्न गरे, ‘बुवाआमाको उमेर बढ्दैमा उहाँहरू कहिल्यै पुरानो हुनुहुन्छ र ? कपडाजस्तो नयाँ–पुरानो भनेर चेतन्शील प्राणीसँग तुलना गर्नु कत्तिको न्यायोचित हुन्छ ?’

उनले थपे, ‘अब हामीले सही मूल्यांकन गर्ने बेला आएको छ । नविनतम् सोच र विचारलाई व्यवहारिक बनाउन सके मात्रै समृद्ध समाज निर्माण हुन्छ, म त्यसैमा प्रतिबद्ध छु ।’

रानाको व्यक्तित्व र लामो राजनीतिक योगदानको प्रभाव पनि अभियानमा देखियो । सभाको अन्त्यमा नेकपामा सक्रिय रहेका शंकर थिङ नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी एमालेमा प्रवेश गरे । थिङले भने, ‘लामो समय राजनीतिमा लागेर सामाजिक रुपान्तरणमा लाग्नु भएको छ, अब तपाईं जत्तिको मान्छे नै अवसर पाउनुपर्छ ।’

ताप्लाखर्कको न्यानो स्वागतपछि टोली जितपुरभञ्ज्याङ पुग्यो । त्यहाँ पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै रानाले ‘सूर्य’मा मतदान गर्न आग्रह गरे । बिहान सामरी कुनाबाट सुरु भएको यात्रा जितपुरभञ्ज्याङ पुग्दा साँझ पर्न लागेको थियो, तर उम्मेदवार र मतदाता दुवैमा उत्साहको कमी देखिएन ।

एमाले प्रचारप्रसार समितिका अनुसार रामेश्वरको सोमबारको घरदैलो कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. १७ र १८ लागि तय भएको छ ।