२२ जेष्ठ २०८३, शुक्रबार

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ ।

आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा कञ्चनवन पुगेर रङ खेलेको जनविश्वास रहेको छ । सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ ।

आज परिक्रमा यात्रुहरू कञ्चनवन पुगेर स्थानीय र साधुसन्तसँग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ ।

धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोलि मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एकएक रात विश्राम गर्नेछ ।

त्यस्तै, पूर्णिमाको अघिल्लो रात परिक्रमा जनकपुरधाम आइपुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।