कैलाली । फागुन २१ नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ४ को चुनावी माहोल झन् तातेको छ ।
घर, आँगनदेखि चोक–चौतारासम्म एउटै चर्चा सुनिन्छ– यो पटकको रोजाइ को ? धेरै मतदाताको उत्तर एउटै छ– एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्ट ।
जेनजी भन्छन्– अबको नेता तपाईं नै
नयाँ पुस्ता जेनजी राजनीतिमा स्पष्ट दृष्टि र परिणाममुखी नेतृत्व खोजिरहेको छ । उनीहरूका लागि विकासका ठोस आधार र राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमको प्रभावशाली आवाज महत्त्वपूर्ण छ ।
एक जेनजी मतदाता भन्छन्– अबको सुदूरपश्चिमको नेता लेखराज भट्ट नै हो । फागुन २१ गते मेरो मत सूर्यमा हुन्छ ।
महिलाको विश्वास : उज्यालोको प्रतीक
महिला मतदातामा पनि भट्टप्रति भरोसा बलियो देखिन्छ । विकासका निरन्तर योजनाले जीवनस्तरमा परिवर्तन आउने अपेक्षा उनीहरूको छ । एक महिला मतदाता भन्छिन्, ‘सूर्य नभए संसार अँध्यारो हुन्छ । लेखराज भट्टले अझै विकास अघि बढाउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
युवाको मूल्याङ्कन : कामको आधारमा समर्थन
युवा वर्गले भट्टको विगतको कामलाई समर्थनको आधार बनाएको देखिन्छ । सडक निर्माण, कृषि पूर्वाधार, नहर र पोखरी निर्माणजस्ता कामले गाउँ–टोलमा प्रत्यक्ष प्रभाव पारेको उनीहरूको अनुभव छ ।
एक युवा भन्छन्, ‘उहाँले सडक बनाउनु भयो, कृषिमा काम गर्नुभयो । अझै पनि विकासलाई गति दिन सक्ने नेता उहाँ नै हो ।’
वृद्धको अपेक्षा : अनुभव र निरन्तरता
वृद्ध मतदाताले अनुभव र निरन्तरतालाई प्राथमिकता दिएका छन् । एक वृद्ध मतदाता भन्छन्, ‘अरूभन्दा लेखराज भट्टले यस क्षेत्रमा धेरै काम गर्नुभएको छ। उहाँबाट अझै राम्रो कामको अपेक्षा छ ।’
क्षेत्रीय मात्र होइन, सुदूरपश्चिमको नेतृत्व
समर्थकहरूको बुझाइमा भट्टको जित केवल एक निर्वाचन क्षेत्रको जित होइन, यो सुदूरपश्चिमको राष्ट्रिय प्रतिनिधित्वसँग जोडिएको विषय हो । विगतमा उनले अघि बढाएका परियोजनाहरू– सेती लोकमार्ग, महाकाली लोकमार्ग,सुदूरपश्चिम विश्वविद्यालय,बयलपाटा अस्पताल,गेटा मेडिकल कलेज,दैजी औद्योगिक क्षेत्र जस्ता योजनाहरूले सुदूरपश्चिममा दीर्घकालीन प्रभाव पार्ने विश्वास समर्थकहरू व्यक्त गर्छन् ।
कैलाली–४ मा चुनावी प्रतिस्पर्धा तीव्र छ । तर जनलहरको दाबी गर्नेहरू भन्छन्– यो पटकको मतदान केवल सांसद चयन होइन, सुदूरपश्चिमको नेतृत्व चयन पनि हो ।
जेनजीदेखि वृद्धसम्मको समर्थनले लेखराज भट्टलाई क्षेत्रीय राजनीतिबाट राष्ट्रिय विमर्शको केन्द्रमा उभ्याएको समर्थकहरूको भनाइ छ ।
फागुन २१ को मतपरिणामले यो जनलहर कत्तिको मतमा रुपान्तरण हुन्छ– त्यो भने केही दिनमै स्पष्ट हुनेछ ।









प्रतिक्रिया