काठमाडौं । आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रालिअन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ ।
हालै प्रदान गरिएको ‘अति उत्तम’ रेटिङ नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणिकरण हो । यसले होटलले सरकारी खाद्य सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गर्दै उच्चस्तरीय भोजन तथा खाजाका परिकार प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दछ ।
विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी गरिएको यो विशिष्ट प्रमाणपत्रले होटलको उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
हालै सञ्चालनमा आएको यस होटलका सञ्चालक देशबन्धु बस्नेत र महाप्रबन्धक अभिमन्यु कायस्थसहित व्यवस्थापन टोलीको नेतृत्वमा रमाडा बाइ विन्धाम इटहरीले छोटो अवधिमै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सकारात्मक सुरुवात गरेको छ ।
महाप्रबन्धक कायस्थले भने, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘अति उत्तम’ स्ट्यान्डर्डाइजेसन प्राप्त गर्नु हाम्रो लागि ठूलो सम्मानको कुरा हो । यस उपलब्धिले हाम्रो टोलीको निरन्तर मेहनत र पाहुनालाई उत्कृष्ट सुविधा मात्र होइन, सुरक्षित र उच्च गुणस्तरीय भोजन अनुभव प्रदान गर्ने हाम्रो मूल मन्त्रलाई प्रमाणित गरेको छ ।”








प्रतिक्रिया