–यज्ञप्रसाद सापकोटा
बर्दिया । प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा (एमाले)का उम्मेदवार शालिकराम अधिकारीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्नसक्ने कामहरूको विवरणसहित पत्रकार सम्मेलनमार्फत उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
अधिकारीले प्रतिवद्धता पत्रमा पूर्वाधार विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषि तथा सिंचाई, शिक्षा, स्वास्थ्य, खानोपानी, उद्योग व्यवसाय, पर्यटन, आवास तथा भूमि व्यवस्था, युवा रोजगार तथा खेलकुद र सूचना प्रविधिलाई प्राथामिकता दिएका छन् । प्रतिवद्धता पत्रमा अधिकारीले चर्चित जब्दिघाट पुलको पुनःनिर्माण कार्य, निर्वाचन क्षेत्रका सबै रणनैतिक सडकहरू कालोपत्रे, नदी तथा खोलाको कटान रोक्नका लागि व्यवस्थित तटबन्धन गर्ने योजना अगाडि सारेका छन् ।
त्यसैगरी, ‘राष्ट्रको पहिचान, किसानको सम्मान’भन्ने नारासहित किसानलाई सुविधा दिने, मल र बीउबिजनको प्रभावकारी व्यवस्था गर्ने, कृषिमा व्यवसायिकरण र आधुनिकीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘एक पालिका एक बहुप्राविधिक शिक्षालय’ कार्यक्रम सञ्चालन गर्ने, प्रविधिको प्रयोग गरेर शैक्षिक गुणस्तर वृद्धि गर्ने, सिकलसेल एनिमिया रोग नियन्त्रणको लागि विशेष कार्यक्रम ल्याइने, बर्दिया अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने, एक पालिका एक अस्पताललाई विशेष प्राथामिकता दिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
बर्दियामा जल्दोबल्दो समस्याको रुपमा रहेको मानव वन्यजन्तु द्व्रन्द्व न्यूनीकरणलाई समेत अधिकारीले एजेण्डा बनाएका छन् । उनले बाघको संख्या यकिन गरी वन क्षेत्रको अनुपातमा बाघको संख्या व्यवस्थापन गरिने, खुल्ला चिडियाखाना सञ्चालनका लागि नीतिगत व्यवस्था गरी समस्याग्रस्त वन्यजन्तुलाई व्यवस्थापन गर्ने र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका साथै राहत वितरणलाई सहज बनाउने एजेण्डा अगाडि सारेका छन् ।
त्यसैगरी, बर्दियाका मुर्तिहा र रजनवा नाका सञ्चालन गर्ने र बन्द भएका छोटी भन्सार कार्यालय सञ्चालन ल्याउने उम्मेदवार अधिकारीले प्रतिवद्धता जनाएका छन् । बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि ‘एक घर, एक रोजगार’ कार्यक्रमलाई सार्थक बनाउने हस्तकलाका सामाग्री निर्माणलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
बर्दियाका कतिपय समस्याहरू प्रतिवद्धता पत्रमा समेट्न नसकिएको बताउँदै उम्मेदवार अधिकारीले जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएमा जनतासँगै रहेर जनताकै मनोभावना अनुसार काम गर्ने उनले बताए ।
बर्दियामा पत्रकार सम्मलेन गरेर प्रतिवद्धता पत्र सार्वजनिक गर्ने एमाले पहिलो पार्टी हो ।









प्रतिक्रिया