काठमाडौं । अमेरिका र इरानबीच बढेको तनावपछि युद्धको आशंका गरिएको छ । आणविक सम्झौतासम्बन्धी वार्ता विफल भएपछि इरानमाथि अमेरिकी हमलाको सम्भावना बढेको हो । अमेरिकाले २४ घण्टाभित्र एसियातर्फ ५० भन्दा बढी लडाकु विमान पठाएको छ ।
अमेरिकी समाचार एजेन्सी एक्सियोसले अमेरिका र इरानबीच चाँडै युद्ध सुरु हुन सक्ने जिकिर गरेको छ । युद्ध हप्तौँसम्म चल्न सक्ने समेत जनाइएको छ ।
सैन्य कारबाही सुरु गरिए त्यो सीमित वा प्रतीकात्मक मात्र हुने छैन, बरु धेरै हप्तासम्म चल्ने अभियान हुन सक्ने अमेरिकी अधिकारीहरूको भनाइ छ ।
ह्वाइट हाउसका एक अधिकारीले आउँदा सातामा हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको बताएका छन् । वासिङटन र तेहरानबीच कूटनीतिक वार्ता जारी रहेकै समयमा यो तनाव बढेको हो ।
इजरायलका पूर्वसैन्य गुप्तचर प्रमुखले अवस्था पहिलेको भन्दा धेरै गम्भीर भइसकेको चेतावनी दिएका छन् । उनले भनेका छन्, “हामी युद्धको झन् नजिक छौँ, तर कुनै महाशक्तिले केही दिनमै युद्ध गर्दैन । पहिले कूटनीतिक बाटोलाई पूर्ण रूपमा प्रयोग गरिन्छ ।”
यसैबीच, इरानको राजधानी तेहराननजिकैको पारन्द इलाकामा कथित रूपमा एउटा भवनमा आगलागी भएको छ । रोयटर्सले इरानको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै यस्तो जनाएको हो ।
भवनमा विस्फोट भएको थियो, तर हालसम्म कोही हताहतको जानकारी प्राप्त नभएको जनाइएको छ ।















प्रतिक्रिया