१९ असार २०८३, शुक्रबार

लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि देशभक्त शक्तिलाई जिताऔँ : झलनाथ खनाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई विजयी गराउन आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमार्फत उनले राष्ट्रलाई थप सङ्कटतर्फ जानबाट रोक्न आसन्न निर्वाचनको सही उपयोग गर्नुपर्ने बताएका हुन् । निर्वाचनलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै उनले मतदाताले देशको दीर्घकालीन भविष्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने उल्लेख गरे ।

खनालले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै लामो समयदेखि राजनीति गर्दै आएका दलहरूले विगतका कमजोरी सच्याएर नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताए । २००७ साल फागुन ७ गते निरङ्कुश राणा शासनविरुद्ध लोकतन्त्रको विजय भएको ऐतिहासिक दिनको स्मरण गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे । साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान र आवधिक निर्वाचनजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए पनि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा मुलुक अपेक्षित समृद्धितर्फ अघि बढ्न नसकेको बताए । भूमि सुधार, कृषिको आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याउँदै उनले अब स्पष्ट नीति, दृढ प्रतिबद्धता र जनमुखी कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।