रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वका उम्मेदवार लिलामणी गौतम आफ्नो चुनावि अभियानमा व्यस्त भएका छन् । उनी मतदाता भेट्न जिल्लाको विभिन्न ठाउँमा पुगिरहेका छन् ।
एमाले रुकुम पूर्वले गत माघ २३ गते पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटमा जिल्ला सचिवालय कमिटीको बैठकबाट चुनाबी प्रतिवद्धता–पत्र सार्वजनिक गर्नुका साथै जिल्ला र पालिका स्तरिय निर्वाचन परिचालन कमिटी बनाएर मैकोटबाटै चुनाबी प्रचार–प्रसार तथा जनभेटघाट सुरु गरिएको हो ।
जिल्ला ईन्चार्ज खेममान खड्काको संयोजकत्वमा जिल्ला स्तरिय निर्वाचन परिचालन कमिटी एवम् पुथाउत्तरगंगामा बागलाल बुढा, भुमे गाउँपालिकामा आशा स्वर्णकार र सिस्ने गाउँपालिकामा फत्यकुमारी ओलीको संयोजकत्वमा पालिका स्तरिय निर्वाचन परिचालन कमिटीको जिम्मेवारी पनि मैकोट बैठकबाट प्रदान गरी चुनाबी अभियानलाई अघि बढाएको जिल्ला अध्यक्ष गोपाल रेउलेले बताए ।
यसपछी एमाले रुकुम पूर्वले उम्मेदवार सहितको मतदाता भेटघाटको कार्यक्रमलाई तिब्रता दिएको छ । गत माघ २४ गते पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं. ५ हुकाम, ६ डिम्मुरगैरा, १३ भल्का, पद्मी र विरगुमका गाउँवस्तीमा पुगेको टोलीले २४ गते रुकुमकोटमा पुगेर पत्रकार भेटघाट गरी चुनाबी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुका साथै आफ्नो योजना बारे जानकारी दिएको थियो ।
यसपछी माघ २५ गते सिस्ने गाउँपालिका कमिटीको बैठक वडा नं. ३ पोखरामा २६ गते भुमे गाउँपालिका कमिटीको बैठक वडा नं. ३ सिमामा र २७ गते पुथाउत्तरगंगा गाउँपालिका कमिटीको बैठक तकसेरामा आयोजना गरी तिनवटै पालिका अन्तरगतका वडा र टोल स्तरमा चुनाबी परिचालन कमिटी बनाई प्रचार–प्रसारमा लाग्ने निर्णय गरेको र यसै अनुसार नै अहिले मतदाता भेटघाटको काम भैरहेको उम्मेदवार लिलामणी गौतमले जानकारी दिए ।
पालिका स्तरका बैठकहरु सकेपछी २७ गतेदेखी सुरु भएको जनभेटघाट पुथाउत्तरगंगा गाउँपालिका बिभिन्न वडाका टोल तथा वस्तीहरु पुगेको गौतमको भनाई छ ।
‘हाम्रो टोलीले लगभग पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडाको जनभेटघाट सम्पन्न गरेको छ । म सहितको टोली पुग्न नसकेको ठाउँमा समानुपातिक उम्मेदवार बागलाल बुढाको टोली पुगेको छ ।’ चुनाबी यात्राबारे जानकारी दिदैं गौतमले भने, ‘यसपछी हामी भुमे र सिस्ने गाउँपालिकाका मतदाताहरुलाई भेट्नका लागी उहाँहरुको घरदैलोमा पुग्ने योजनामा छौं । हाम्रो टोली सकेसम्म धेरै मतदातामाझ पुगेर मत माग्ने र उहाँहरुका भनाईहरु सुन्ने योजनामा छौं ।’
पुथाउत्तरगंगाका मतदातालाई भेटेपछी आफु निकै उत्साहित भएको बताउदैं उम्मेदवार गौतमले एमालेप्रतिको जनविश्वास देखेर यसपल्टको निर्वाचनबाट आफुले जित्ने दावी समेत गरेका छन् ।
आफु रुकुमको माटोमा हुर्के–बढेको स्थानिय भएकाले यहाँका सम्भावना र जनमनका माग एवम् आवश्यकताबारे जानकार रहेको भन्दै उनले आफ्नो जितको दावेदारी प्रस्तुत गरेका हुन् ।








प्रतिक्रिया