३० आश्विन २०८३, शुक्रबार

सम्झना र पूजाको अर्धशतकका बाबजुद नेपालको लगातार दोस्रो हार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले एसीसी महिला एसिया कप राइजिङ स्टार्समा लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाललाई आइतबार सम्पन्न खेलमा युएईले १८ रनले निरास बनाएको हो ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाउँदै १७१ रन बनायो ।

नेपालका लागि सम्झना खड्काले ३९ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरिन् । यसैगरी, कप्तान पूजा महतोले ३५ बलमा आठ चौका र १ छक्कासहित ५३ र सीता रानामगरले अविजित २२ रन बनाए ।

तेस्रो विकेटका लागि सम्झना र पूजाबीच १०४ रनको साझेदारी भएको थियो । युएईका लागि हिना होटचंदानी र सुरक्षा कोट्टेले २–२ तथा इन्धुजा नन्दाकुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि कप्तान इशा ओजाले ६३ बलमा १४ चौका र ९ छक्काको मद्दतले १२५ रनको योगदान गरिन् । यसैगरी, हिना होटचंदानीले ३८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् ।

चौथो विकेटका लागि ओजा र होटचंदानीले १६७ रनको साझेदारी गरेका थिए । नेपालका लागि मनिषा उपाध्यायले २ र कविता कुँवरले १ विकेट लिए ।

लगातार दोस्रो जितसँगै २ खेलमा ४ अंक जोडेको युएईले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । दुवै खेलमा पराजित नेपाल भने समूह चरणबाटै बाहिरिएको छ ।