–अन्जनी कुमार अधिकारी
उदयपुर । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत शनिबार उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।
पहिलो खेलमा नेपाल पुलिस क्लबले एफसी रियललाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसको जितमा रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ६ गोल गरिन् । उनले खेलको ११, १२, ४५, ४७, ७२ र ७७ औं मिनेटमा गोल गरिन् ।
त्यसैगरी, पुजा लामाले १४ औं मिनेटमा एक गोल गरिन् भने मीना देउवाले १८ र ४९ औं मिनेटमा दुई गोल थपिन् । बिर्सना चौधरीले ६७ औं मिनेटमा एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाइन् । खेलमा उत्कृष्ट प्रदर्शनका लागि रेखा पौडेल म्यान अफ दि म्याच घोषित भइन् ।
दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले छहारी एफसीलाई १–० ले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७८ औं मिनेटमा वर्षा ओलीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् । खेलमा उत्कृष्ट प्रदर्शनका लागि वर्षा ओली म्यान अफ दि म्याच घोषित भइन् ।
प्रतियोगिताअन्तर्गत भोलि आइतबार एपीएफ एफसी र आरएस रिसोर्टबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया