भक्तपुर । नेकपा (एमाले)का सचिव एवं भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गरेका छन् । उनका अनुसार बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र नेशनल सिटिजन पार्टी लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश हो ।
बस्नेतले नवउदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गरेका छन् ।
उनले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताए । ‘आन्दोलन र उत्तेजनाभन्दा नीतिगत स्पष्टता र परिणाममुखी शासन रोज्ने जनताको निर्णय सम्मानयोग्य हुन्छ,’ उनको भनाइ छ।
उनले जनताको मतले फेरि प्रमाणित गरेको उल्लेख गर्दै अराजकताले होइन, उत्तरदायित्वपूर्ण नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गरे ।
नेपालमा निर्वाचनको पूर्वसन्ध्यामा आएको छिमेकी मुलुकको परिणामले नेपाली मतदातालाई पनि आफ्नो मतको मूल्य, स्थायित्वको आवश्यकता र राष्ट्रहितको प्राथमिकताबारे गम्भीर समीक्षा गर्न प्रेरित गर्ने उनको विश्वास छ ।
बस्नेतले अन्तिम निर्णय जनताकै हातमा रहने उल्लेख गर्दै छिमेकी मुलुकको अनुभवले सोच र विश्लेषणमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे ।








प्रतिक्रिया