मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दो छ । यही सन्दर्भमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका राजनीतिज्ञ रामेश्वर रानासँग हामीले समसामयिक राजनीति, निर्वाचनमा पुनः सक्रिय हुने निर्णय, विकासका प्राथमिकता, हेटौंडा बजारभित्रको पूर्वाधार विकास निर्माण र एमालेप्रति आमनागरिकको धारणालगायतका विषयमा केन्द्रित भएर विस्तृत कुराकानी गरेका छौँ ।
पूर्व जिल्ला विकास समिति, मकवानपुरका सभापति रहँदै दुर्गम क्षेत्रमा सडक विस्तार, दीर्घकालीन योजना निर्माण र संगठनात्मक जिम्मेवारीमा लामो समय सक्रिय राना २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट टाढा थिए । करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनी शालिन, स्वच्छ छवि भएका नेताका रुपमा चिनिन्छन ।
यस अन्तर्वार्तामा रानाले आफ्नो राजनीतिक यात्राको अनुभव, उम्मेदवारीको कारण, मकवानपुर–१ को विकास दृष्टिकोण, हेटौंडा केन्द्रित समस्या र नेकपा (एमाले)प्रति जनमानसमा देखिएको धारणा लगायत विषयमा खुलेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । प्रस्तुत छ, पत्रकार निशा गुरुङले रानासँग गरेको कुराकानीको सम्पादित अंशः
१) तपाईंले संविधानसभा चुनाव लडेको १८ वर्षपछि पुनः प्रतिनिधिसभा चुनावमा उठ्ने निर्णय लिनु भएको छ । फेरि जनताको परीक्षामा जान खोज्नुको मुख्य कारण के हो ?
यो बीचमा म निरन्तर पार्टीको जिम्मेवारीमा रहेँ । पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यको हैसियतमा म समाज रुपान्तरणको काममा निरन्तर लागिरहेँ । यो पटक पार्टीको निर्णय अनुसार नै म प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर–१ को नेकपा (एमाले)को उम्मेदवार छु । अहिलेको परिस्थतिमा हाम्रो स्वाधिनता, हाम्रो भौगोगिक अखण्डता र हाम्रो राष्ट्रियता माथि गम्भिर प्रश्न खडा गराईरहेको यस परिस्थितिमा हाम्रो यी पक्षहरुको रक्षाको निम्ति मेरो उम्मेदवारी हो । र सँगै हामीले रगत सँगै साटेर ल्याएको संविधान र रगत सँग साटिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि मेरो उम्मेदवारी हो ।
२) तपाईंले चुनावी प्रतिस्पर्धामा आफ्नो मुख्य प्रतिस्पर्धीको रुपमा कसलाई हेर्नु भएको छ ?
मुख्य प्रतिस्पर्धीको रुपमा मैले कुनै दल विशेषलाई भन्दा पनि प्रतिस्पर्धाको रुपमा एउटा दृष्टिकोणको आधारमा भिजिनरी हिसाबले हामीले समृद्ध नेपाल सुखी नेपाली बनाउने गन्तव्यमा हामी छौँ । यो गन्तव्यमा हामी दृढ छौँ । र, अन्य राजनीतिक पार्टीहरुसँग म आग्रह गर्न चाहान्छु, लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा समृद्ध नेपाल बनाउने एउटा कानुनी अड्चनलाई स्थापित गर्ने, राज्यलाई आम जनताको पक्षमा लोककल्याणकारी राज्यको अवधारणा अनुसार जनताको पक्षमा दृढतापुर्वक उभ्याउने, जनतालाई सबै अवसरहरुमा सहभागी गराउने यहि आधारमा समृद्ध नेपाल सुखी नेपाली बनाउने कुरामा नेकपा (एमाले) दृढ छ । मेरो उम्मेदवारी त्यसको लागि हो । त्यसकारण लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा राजनितिक दृष्टिकोणको आधारमा मकवानपुरको समृद्धिको लागि आफ्नो बिचार राखेर अगाडि बढौँ । यही क्रममा मैले यही दलभन्दा पनि नेकपा (एमाले)को घोषणा पत्र, दृष्टिकोण, जिल्लाको निर्वाचन क्षेत्रको प्रतिबद्धता पत्र राखेर अगाडि बढिरहेको छु । र, म विश्वासका साथ भन्न चाहान्छु । आम निर्वाचन क्षेत्र नम्वर १ का मतदाताले निर्वाचित गराउनुहुनेछ भन्नेमा म पूर्ण रुपमा विश्वस्थ छु ।
३) जिविस सभापति हुँदा तपाईंले मकवानपुरका दुर्गम क्षेत्रमा सडक विस्तार र दीर्घकालीन गुरुयोजना तयार गरेको चर्चा हुन्छ । यदि यसपटक निर्वाचित हुनुभयो भने मकवानपुर–१ का लागि गर्न सकिने विकासका योजना के छन् ?
प्रतिनिधिसभाको सदस्यको हैसियतले कानुनको निर्माणको भुमिका हो । एउटा ल मेकरको हैसियतले, तर पनि आफ्नो प्रतिनिधिबाट सबै सरोकारको विषयहरुमा नेतृत्व गरियोस् भन्ने जनताको अपेक्षा हुन्छ । खासगरी १ नम्बर निर्वाचन क्षेत्रको मुख्य शहरी क्षेत्रमा भविष्यको एउटा समृद्ध शहरको रुपमा हामिले बृहत्तर विकासको निम्ति हेटौंडाको सम्भावनाको विषयमा सरोकार निकायहरुसँग छलफल गरेर काम गर्ने छौँ । यहाँको आर्थिक, सामाजिक, पर्यटकीय र नवयुवाहरुको लक्षित हिसाबले एउटा सम्भावनाको शहरमा युवाहरुको क्षमता ज्ञानको आधारमा प्रस्फुट गरेर उहाँहरुलाई समृद्ध नेपाल बनाउने अभियानमा जोड्ने हिसाबले हामी लाग्नेछौँ । त्यसैगरी, ग्रामीण भेगमा मदन भण्डारी राजमार्ग चुरेको उत्तरी क्षेत्रबाट गएको छ । त्यसले पनि धेरै सहज बनाएको छ । १ नम्बर क्षेत्रका नागरिकहरुको लागि जस्तो त्यहाँ बागमतीका भित्रि गाउँका कुटिभकारी जस्ता गाउँहरुमा सडक बिस्तार भएको छैन । त्यहाँ आवगमनमा धेरै समस्या छ । त्यस ठाउँमा स्वास्थ्य उपचारको समुचित प्रबन्धको लागि बाटाघाटाको व्यवस्थित र स्तरीकरण गर्नका लागि चुरे क्षेत्रबाट खहरे लगायतका समस्याका कारणले गर्दाखेरी त्यहाँको उर्बर जमिनहरु क्रमश विनाश हुँदै गएको जुन जटिलताहरु छन् । यी सबै कुराहरुलाई ध्यानमा राखेर स्वास्थ्य, शिक्षा र अन्य आर्थिक अवसरहरु सिर्जना गर्ने लगायतका कामहरुको एकिकृत विकासहरुमा मेरो जोड रहने छ ।
४) हेटौंडा बजार भत्किँदा दल र नेताहरु मौन देखिँदा मतदाताले तपाईंहरुको विकासमा स्पष्ट धारणा खोजिरहेका छन नि ?
हेटौंडाको सन्दर्भमा हामीले हिजोदेखि नै कुरा राखेका छौँ । यहाँको सरोकारवाला पक्ष र आम हेटौंडाबासीहरु पीडितको साथमा उहाँहरुको कुराहरु हामीले सुन्यौँ । यो सन्दर्भका उहाँहरुले नियम अनुसार पाउनुपर्ने हक स्थापित हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । जनताले पाउनुपर्ने उहाँहरुको हक व्यवस्था गरेर यसलाई चौंडा गरेर लगायतको कामहरुलाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । आज जुन परिस्थितिमा यसलाई पुन निर्माण गर्ने र जनताको हकलाई स्थापित नगर्ने काम जुन भयो । यो वास्तवमा हेटौंडालाई खण्डहरको रुपमा परिणत गर्ने काम भयो । यो बेठिक भएको छ । म के भन्न चाहन्छु भने हाम्रो अडान हिजो जुन थियो यथावत हो । यहाँको पीडितहरुको अधिकार स्थापित हुनुपर्दछ । उहाँहरुको कानुन अनुसार दिनुपर्ने अधिकार दिएर तत्काल पुनः निर्माणको कार्यलाई अगाडि बढाउनुपर्छ । हेटौंडालाई यहाँको जनताको सहभागितामा हसमुख ढंगले हाम्रो हेटौंडा निर्माण गर्ने भन्ने सहभागिता गराउन सक्यो भने मात्रै समृद्ध मकवानपुर बनाउन सक्छौँ । जनतालाई बिल्लीबाठ बनाउनु ठिक होइन र सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक व्यवस्था र यहाँको नगरबासीहरुको हकमा उहाँहरुको हक स्थापित गर्ने ठाउँमा उहाँहरुले पाउनुपर्छ भन्न चाँहान्छु ।
५) तपाईं शालिन, ‘बेदाग’ छविका नेताका रुपमा चिनिनुहुन्छ । तर, जेनजी आन्दोलनपछि नेकपा (एमाले)प्रति नागरिक असन्तुष्ट सुनिएका छन् । मकवानपुरका मतदाताहरुको विश्वास जित्न कसरी सक्नुहुन्छ ?
हार्दिक आग्रह गर्न चाहन्छु । नेकपा (एमाले) निरन्तर रुपमा ६ सालमा नेपाल कम्युष्टि पार्टीको रुपमा स्थापना भइसकेपछि नागरिक अधिकारमा निम्ति हामी लडिरहेका छौँ । अघिल्लो पुस्ताले यसको नेतृत्व गर्नुभयो । आज हामी नाति पुस्ता नातिना पुस्ता निरन्तर क्रियाशिल छौँ । तसर्थ के आग्रह गर्न चान्हछौँ भने जनताले हामीलाई प्रश्न राख्नुभयो भने त्यसको उत्तर दिनेछौँ । तर, यहाँको प्रश्नमा म के निवेदन गर्न चाहन्छौँ भने नेपाली जनता नेकपा (एमाले)ले मुलुक बनाउने, समाज रुपान्तर गर्ने, सामाजिक न्यायसहितको आर्थिक समाजिक रुपान्तरणमा समाजलाई अगाडि बढाउने, असल मूल्यमान्यताको स्थापित गर्ने र नयाँ मूल्यमान्यताको स्थापना गर्ने अभियानमा नेकपा (एमाले) लागिरहेको छ । नेकपा (एमाले)प्रति आम जनताको आस्था छ । आशाका साथ हामीलाई हेरिरहेनु भएको छ । त्यसकारण म विनम्रका साथ आग्रह गर्न चाहन्छु । आम जनताको आक्रोश होइन नेकपा (एमाले)प्रति आम जनताको विश्वास बढिरहेको छ । र, यस्को निम्ति म विश्वासको साथ भन्न चाहन्छु । म आम जनताको विश्वासमा कहिले पनि तुसारापात हुन दिने छैन । म प्रतिबद्धताका साथ जनताको हितमा लागिरहने छु । नेकपा (एमाले) लागिरहने छ । र, निर्वाचित भइसकेपछि जनताको प्रश्नहरुको सही उत्तर दिनका निम्ति हामी प्रतिबद्ध रहने छु भन्ने पनि विश्वास प्रकट गर्न चाहान्छु ।









प्रतिक्रिया