२९ आश्विन २०८३, बिहिबार

प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी प्रगति नाथले किङ्ग्स कलेजबाट स्नातक अध्ययनका लागि छात्रवृत्ति पाएकी छन् ।

बबरमहलस्थित किङ्ग्स कलेजले उनलाई व्यवसाय प्रशासन विषयमा ९० प्रतिशत छात्रवृत्ति प्रदान गरेको हो । आज आयोजित एक कार्यक्रममा कलेजका निर्देशक राज पौडेलसहित किङ्ग्स कलेज परिवारले प्रगतिलाई औपचारिक रूपमा स्वागत गरेको थियो ।

सो अवसरमा किङ्ग्स कलेज र नेपाली भलिबलको विकासमा सक्रिय रूप्से स्पोट्र्स म्यानेजमेन्ट प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्रत्येक वर्ष रूप्से स्पोट्र्सको सिफारिसमा दुई जना राष्ट्रिय खेलाडीलाई किङ्ग्स कलेजले छात्रवृत्ति दिनेछ ।

खेलाडीले खेलसँगै पढाइ पनि अघि बढाउन पाउनुपर्छ भन्ने उद्देश्यले किङ्ग्स कलेजले खेलकुद छात्रवृत्ति कार्यक्रम सुरु गरेको जनाएको छ । यही कार्यक्रमअन्तर्गत प्रगतिले स्नातक अध्ययनको अवसर पाएकी हुन् ।

कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले राष्ट्रिय खेलाडी अवसरको खोजीमा विदेश जान बाध्य हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो पहल गरिएको बताए । उनले शिक्षा र खेलकुदलाई सँगसँगै लैजान पाउनु खेलाडीका लागि निकै महत्वपूर्ण हुने उल्लेख गरे ।

रूप्से स्पोट्र्सले पनि खेल जीवनसँगै शिक्षा अघि बढाउन प्रोत्साहन गर्दै आएको बताएको छ । रुकुम पश्चिमबाट राष्ट्रिय टोलीसम्मको प्रगतिको यात्रा प्रेरणादायी रहेको भन्दै उनले अन्य खेलाडीलाई पनि पढाइमा ध्यान दिन आग्रह गरेका छन् ।

किङ्ग्स कलेज अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बद्ध छ र सन् २०२५ देखि विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत क्विएए मान्यताप्राप्त संस्था हो ।

आगामी दिनमा खेलाडीको शैक्षिक विकासका लागि थप सहकार्य गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । रूप्से स्पोट्र्स महिला सशक्तिकरण र भलिबल विकासका लागि विभिन्न प्रतियोगिता आयोजना तथा टोली प्रायोजनमा पनि सक्रिय रहँदै आएको छ ।