१२ श्रावण २०८३, मंगलबार

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा आयोजना गरिएको विवाह भोज खाएका दर्जनौँ व्यक्ति एकैसाथ बिरामी परेपछि स्थानीय स्तरमै आपतकालीन उपचार व्यवस्था मिलाइएको छ। बेहुला–बेहुलीसहित भोजमा सहभागी धेरैलाई ज्वरो, वान्ता र झाडापखालाजस्ता लक्षण देखिएपछि गाउँमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरिएको हो।

स्वास्थ्यकर्मीका अनुसार खाना खाएको करिब आधा दिनपछि समस्या देखिन थालेको थियो। हालसम्म करिब तीन दर्जनभन्दा बढी बिरामीलाई सलाइन र औषधि दिएर उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य अस्पतालतर्फ पठाइएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय खोटाङ र स्थानीय जनप्रतिनिधिहरूको टोली उपचारमा खटिएको छ। बिरामीको संख्या बढेपछि थप औषधि र जनशक्ति समेत परिचालन गरिएको छ।

प्रारम्भिक रूपमा ‘फुड प्वाइजनिङ’ भएको आशंका गरिएको छ, तर वास्तविक कारण पहिचान गर्न स्वास्थ्य अधिकारीहरूले अनुसन्धान जारी राखेका छन्। भोजमा सहभागी केही पाहुना अन्य जिल्लामा फर्किसकेकाले उनीहरूमा पनि स्वास्थ्य समस्या देखिएको जानकारी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

स्थिति नियन्त्रणमा राख्न गाउँपालिकाले सबै प्रभावितलाई सम्पर्कमा आउन आग्रह गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाएको जनाएको छ।