इरान । इरानस्थित अमेरिकी भर्चुअल दूतावासले आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । सूचनाअनुसार इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोध जारी छन् ।
सूचनामा भनिएको छ, ‘इरान सरकारले मोबाइल फोन, ल्यान्डलाइन र राष्ट्रिय इन्टरनेट नेटवर्कमा प्रतिबन्ध लगाएको छ। एयरलाइन्सहरूले इरान आउने–जाने उडान सीमित वा रद्द गरिरहेका छन् ।’
अमेरिकी भर्चुअल दूतावासले इरानमा रहेका आफ्ना नागरिकलाई सञ्चारका वैकल्पिक माध्यम अपनाउन तथा सुरक्षित छ भने आर्मेनिया वा टर्की हुँदै इरानबाट बाहिरिन सल्लाह दिएको छ ।
यसैबिच आज ओमानमा इरान र अमेरिका वार्ता गर्दै छन् । त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको छ ।
उनले आज ओमानको राजधानी मस्कटमा अमेरिकी दूतहरूसँग वार्ता गर्नेछन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् ।
इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नेजस्ता मागमा सम्झौता नहुने अडान लिइरहेको छ ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले सम्झौतामा पुग्न सकिन्छ कि भनेर हेर्न इरानका अधिकारीसँगको वार्ताको निगरानी गरिरहेको बताएकी छन् ।








प्रतिक्रिया