१७ असार २०८३, बुधबार

मकवानपुर–२ मा महेश बर्तौलाको घरदैलो अभियान तीव्र, सुपिङमा दर्जन बढी एमालेमा फर्किए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमफेदी । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

बुधबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा बर्तौलाले एक दर्जन कार्यकर्तालाई पुनः एमालेमा फर्काएका हुन् ।

​कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शेरबहादुर मुक्तान, चन्द्रबहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः एमालेमै फर्किएका हुन् ।

उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गरे ।​

स्थानीयसँगको भेटमा बर्तौलाले विगतको कार्यकाल पूर्ण हुन नपाएकोमा दुःख व्यक्त गरे ।

‘तपाईंहरूले मलाई ६० महिनाका लागि निर्वाचित गरेर पठाउनुभएको थियो, तर संसद विघटनका कारण ३२ महिनामै मेरो कार्यकाल रोकियो,’ बर्तौलाले भने, ‘प्राकृतिक न्याय र २०७९ को जनादेशका आधारमा पनि मैले बाँकी २८ महिना सेवा गर्न पाउनुपर्छ । अधुरा जिम्मेवारी पूरा गर्न मलाई सहयोग गर्नुहोस् ।’​

​अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बर्तौलासमक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । स्थानीय गुणप्रसाद पुडासैनीले बाँदरको समस्याका कारण गाउँ नै रित्तिन लागेको बताउँदै यसलाई नीतिगत रूपमै समाधान गर्न माग गरे । अर्का स्थानीय छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने र गाईको मासु खान पाउनुपर्छ भन्ने खगेन्द्र सुनारको अभिव्यक्तिको कडा विरोध गरे ।

वास्थलाका सूर्यबहादुर ब्लोनले पुस्तौंदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई तीव्र बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमाले भीमफेदीका उपसचिव आशिष अस्लामीले बर्तौलाको विगतको कार्यकाल उपलब्धि मुलक रहेको दाबी गरे । उनले बर्तौलाले संसदमा भूमिहीनका समस्या, टीआरसी विधेयक, शिक्षा विधेयक र दुग्ध किसानका पक्षमा दरिलो आवाज उठाएको स्मरण गराए ।

अस्लामीले भने, ‘हाम्रो उम्मेदवार दुई विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको विज्ञ व्यक्ति हुनुहुन्छ । उहाँको सक्रियताले नै बकैया लगायतका क्षेत्रमा भूमिहीनले पुर्जा पाएका छन्, बाँकी काम पनि उहाँले नै पूरा गर्नुहुनेछ ।’

एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गएको भदौ २३–२४ गते व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाएको स्मरण गराउँदै राष्ट्रियता र शान्ति सुरक्षाको लागि एमालेमा मत हाल्न अनुरोध गरिन् ।