३१ असार २०८३, बुधबार

स्पेनमा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अष्ट्रेलिया, फ्रान्स र डेनमार्कपछि स्पेनले पनि सामाजिक सञ्जालबारे निर्णय लिएको छ ।

स्पेनले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न लागेको हो । प्रधानमन्त्री पेड्रो सान्चेजले संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको दुबई शिखर सम्मेलनमा यो घोषणा गरेका हुन् । उनले स्पेनका बालबालिका र बढ्दो पुस्तालाई अश्लील र भड्काउने अनलाइन सामग्रीबाट हुने हानिबाट जोगाउन यो प्रतिबन्ध लगाइने बताए ।

सान्चेजले भने कि उनको सरकारले चाँडै नै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सूचना जारी गर्नेछ । उनका अनुसार त्यसपछि १६ वर्ष मुनिका कुनै पनि बालबालिकाले कुनै पनि सामाजिक सञ्जाल साइट खोल्न पाउने छैनन् ।

सान्चेजले विश्वका ठूला प्राविधिक कम्पनीहरूलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनुको कारण बताए । उनले आफ्नो प्लेटफर्ममा सहमति बिना बाल यौन दुर्व्यवहार र डीपफेक तस्वीरहरु जस्ता अवैध सामग्री फैलाउन अनुमति दिएकोमा आलोचना गरे ।

‘आज, हाम्रा बच्चाहरू यस्तो ठाउँमा परेका छन् जहाँ उनीहरू कहिल्यै एक्लै हुनुहुँदैन’ सान्चेजले भने, ‘हामी अब यो स्वीकार गर्दैनौँ ।’

यद्यपि, सान्चेजको सरकारसँग बहुमत नभएकोले उनको वामपन्थी गठबन्धनले संसदमा आवश्यक अनुमोदन पाउनेछ कि पाउनेछैन भन्ने कुरा स्पष्ट छैन ।

स्पेनका विपक्षी दलहरूले पनि प्रतिबन्धको पक्षमा आफ्नो समर्थन जनाउने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सले सान्चेजको भनाइको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, एक्स (ट्वीटर)का मालिक एलन मस्कले सान्चेजको आलोचना गर्दै उनलाई फासीवादी तानाशाह भनेका छन् ।