पोखरा । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
न्यु डायमण्डले काभा क्लब च्याम्पियनसिपको तयारीमा रहेको नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ । न्यु डायमण्ड पहिलो पटक टाइगर कपमा च्याम्पियन बनेको हो ।
एक महिना लगातार तेस्रो फाइनलमा न्यु डायमण्डले पुलिसलाई हराएको छ । काठमाडौंमा गत महिना न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिसलाई नै हराएको थियो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा दोस्रो सेटमा केही चुनौती दिएको पुलिसले बाँकी दुई सेटमा खासै टक्कर दिन सकेन। न्यु डायमण्ड २५–११,२५–२२,२५–१६ ले विजयी भएको हो ।
च्याम्पियनसिपमा खेलेका ५ खेलमा कुनै सेट नगुमाई न्यु डायमण्ड च्याम्पियन बनेको हो । हिजो एपिएफलाई हराउँदै थाइल्याण्ड क्विन्सले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो ।








प्रतिक्रिया