३० आश्विन २०८३, शुक्रबार

सहिदको बलिदानीलाई बेवास्ता गर्ने छुट हामी कसैलाई छैन : बालेन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन् ।

सहिद दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका हुन् । ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको उनले बताए ।

‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्‍यो, पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन् ।’

उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग पनि उठाएका छन् । सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन बलिदान दिनुपरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

बालेनले अब सहिदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन् । ‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्छ,’ उनले भनेका छन्।

त्यसैगरी, राज्यका निकायमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।

‘यी सहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,’ उनले भने । उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान समेत गरेका छन् ।