काठमाडौं । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा ‘एलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ भव्य रूपमा आयोजना गरेको छ ।
कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुणकुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो, उनले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए ।
कार्यक्रममा कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको ‘टुगेदर वि आर स्ट्रङ्गर’ शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीहरूमा उत्साह थपेको थियो ।
त्यस्तै, पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभवहरू साझा गरे । औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क (पूर्व प्रोडक्ट हेड–गुगल) ले पेशागत नेटवर्कको महत्त्व दर्शाए ।
कार्यक्रमको समापन गर्दै द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्वविद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए । उनले नयाँ एलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको थियो ।









प्रतिक्रिया