पोखरा । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबसँग ३–० सोझो सेटमा पराजित भएसँगै थाइल्याण्ड क्विन्स छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप च्याम्पियनसिपबाट बाहिरिएको छ ।
थाइल्याण्ड क्विन्स सोझो सेटमा पराजित भएसँगै नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले आजै एपिएफलाई ३–० ले हराएपछि फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको थियो ।
वर्षाका कारण पोखरा रंगशालाको खुला भलिबल कोर्ट बाट सोही परिसरमा रहेको बहुउद्देश्यीय कभर्डहलमा खेलाईएको आजको दोस्रो खेलमा न्यु डायमण्डले थाइल्याण्ड क्विन्सलाई न्यू डायमण्डले पहिलो सेट २५–२१, २५–२३ र २५–२० ले हराएको हो ।
अपराजित न्यु डायमण्ड यसअघि नै फाइनलमा पुगिसकेको थियो । न्यु डायमण्डले १२ अंक जोड्दा ४ खेलबाट ७ अंक बटुलेको पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो। थाइल्याण्ड क्विन्सले ४ खेलबाट ६ अंक जोड्यो ।
न्यु डायमण्ड र पुलिस उपाधिका लागि शुक्रवार तथा तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र एपिएफ बिच बिहीवार प्रतिष्पर्धा हुनेछ ।
पुलिससँग पराजित एपिएफ बाहिरियो
त्यसअघि पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५–१६, २५–१३,२५–१९ ले विजयी भएको हो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।
आज पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपिएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिवार सम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल महिलातर्फको शुक्रवार र पुरुषतर्फको शनिवार हुनेछ ।













प्रतिक्रिया