२५ असार २०८३, बिहिबार

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो । पुनः मंगलबार रातिदेखि वर्षा र बाक्लो हिमपात भएको हो ।

लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनः वर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् ।

बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षा र हिमपात जारी छ । बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।

बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैन, सुनन्दा लगायतका अग्ला डाँडापाखा र हिमालहरु सेताम्ये बनेका छन् । वर्षासँगै हिमापात भएपछि सुक्न लागेको गहुँ बालीलाई थप राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पुनः वर्षासँगै हिमपात हुँदा हिउँदे बालीनालीलाई थप राहत मिलेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताए । वर्षासँगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने सहानीले बताए । गहुँ बालीसँगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको उनको भनाई छ ।

बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्र अहिले हिउँको घुम्टोमा सजिएको छ । अत्याधिक वर्षा र हिमपात भए पछि वन्यजन्तु समेत चिसोले तलतिर झरेका छन् ।

वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्ने भएको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तुहरु बेसी झर्न थालेपछि स्थानीयहरुले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । वन्यजन्तुको चोरी, सिकारी नगर्न हुन समेत आग्रह गरिएको छ ।

बाक्लो हिमपातका कारण बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको पोरखेलेकमा अत्याधिक हिउँ जमेकोले यस सडकखण्डमा चल्ने सवारीसाधन ठप्प बनेका हुन् ।

हिजो रातिदेखि सुरु भएको वर्षा र हिमपात अहिलेसम्म जारी छ । हिमपातका कारण विद्युत र टेलिफोन सेवा समेत प्रभावित बनेको छ ।