– गणेश पाण्डे
नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । समानुपातिक सूचीमार्फत सुरक्षित रूपमा संसद् पुग्न सक्ने सम्भावना हुँदाहुँदै पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदन हुने कठिन बाटो रोजे । यो रोजाइ नै उनको राजनीतिक चरित्रको परिचायक हो। किनकी पृथ्वीसुब्बाको राजनीति कहिल्यै पनि सहज थिएन– हार, अपमान, दुष्प्रचार र भौतिक आक्रमणसम्म सहँदै पनि उनी कहिल्यै विचलित भएनन् ।
कतिपयले उनलाई ‘नवौँ पटकका उम्मेदवार’ भनेर व्यङ्ग्य गर्न खोज्छन् । चुनाव लड्न थालेको चार दशक बितिसकेको सत्य हो, तर हिजोको राजनीति र आजको राजनीतिबीच आकाश–जमिनको फरक छ । हारलाई यात्राको अङ्ग ठान्ने नेताको उदाहरण पृथ्वीसुब्बा हुन् ।
लमजुङको राजनीतिक पृष्ठभूमि
कुनै समय लमजुङमा एउटा उक्ति प्रचलित थियो- “काँग्रेसले लौरो उठाए पनि जित्छ !” २०४८ पछि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा दुवै क्षेत्रमा नेपाली काँग्रेसको दबदबा रह्यो । विशेषतः तत्कालीन क्षेत्र नं. १ मा २०७० सालमा जमीन्द्रमान घलेले जित्नुबाहेक एमालेले कहिल्यै जित निकाल्न सकेन ।
दोस्रो क्षेत्रमा भने २०६४ सालमा पृथ्वीसुब्बा गुरुङले ऐतिहासिक जित निकाले । देशभर माओवादी उभार उत्कर्षमा रहेको कठिन समयमा उनले लमजुङमा एमालेलाई विजयी बनाए । संघीयतापछि लमजुङमा प्रतिनिधिसभाको एउटा मात्र सिट रह्यो ।
२०७४ मा एमाले–माओवादी गठबन्धन हुँदा उनी संघीय उम्मेदवार बन्न चाहन्थे, तर पार्टी नेतृत्वको सुझावमा प्रदेश सभामा उम्मेदवार बने । प्रतिनिधिसभामा देव गुरुङ निर्वाचित भए भने प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र धनञ्जय दवाडी विजयी भए । यही कार्यकालमा पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बने ।
२०७९ मा महागठबन्धनको प्रतिकूल परिस्थितिमा उनले देव गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरे र मन्त्रीसमेत बने ।
मास्टरदेखि मन्त्रीसम्म
आज पनि एमालेभित्र उनलाई ‘मास्टर साब’ भनेर सम्बोधन गरिन्छ । राजनीति प्रवेशअघि उनी लमजुङको विकट गाउँ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयका गणित शिक्षक थिए । शिक्षण पेशामार्फत नै उनले जनताको अधिकारका पक्षमा विद्रोहको चेतना फैलाए ।
उनको पहिलो विद्रोह घरभित्रैबाट सुरु भयो- बुबा गंगाप्रसाद गुरुङलाई छोरा ‘मास्टर’ बनेको खासै मन परेको थिएन। लाहुरे संस्कृतिले हावी समाजमा शान, मान र धनभन्दा शिक्षा र चेतनालाई रोज्नु सजिलो निर्णय थिएन । तर, पृथ्वीसुब्बाले समाजलाई उज्यालो बनाउने बाटो रोजे ।
२०३४ सालमा अस्कल क्याम्पसबाट बीएसस्सी उत्तीर्ण गर्दा गुरुङ समुदायबाट उच्च शिक्षित व्यक्ति विरलै थिए । यही कारण उनी लमजुङकै ‘आइकन’ बने ।
संघर्षको लामो यात्रा
२०२७ सालमा इशानेश्वर प्रमोद हाईस्कूल भोर्लेटारमा अनेरास्ववियूबाट स्ववियू सचिव निर्वाचित भएपछि उनको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्यो । शिक्षक संगठनमार्फत आन्दोलनको नेतृत्व गर्दा २०३७–३८ र २०४०–४१ मा पटक–पटक गरी १४ दिनभन्दा बढी हिरासतमा बसे ।
२०३८ मा टक्सारमा हली मजदुरको ज्याला वृद्धिका लागि हड्ताल, २०३९ मा घाम्राङमा किसान आन्दोलन, २०४१–४४ मा घरवारविहीन मजदुरका लागि सहकारीमार्फत २५ घर निर्माण—यी सबै संघर्षको अगुवाइ उनैले गरे ।
२०४२ सालमा पक्राउ परी १०० दिन हिरासत र ११ महिना कारागार जीवन बिताउँदा पनि उनी विचलित भएनन् । जेलमै हुँदा जनपक्षीय उम्मेदवार बनेर पञ्चायतको भण्डाफोर अभियान सञ्चालन गरे । २०४६ को जनआन्दोलनमा लमजुङको संयोजकका रूपमा निर्णायक भूमिका खेले । त्यसलगत्तै २०४८ र २०५१ सालमा एमालेको पार्टी प्रमुख भइ जिल्लाको नेतृत्व सम्हाले । २०४० र ५० को दशकमा लमजुङमा वामपन्थी राजनीति विस्तार गर्न सहज थिएन । संगठन कमजोर थियो, स्रोत–साधन सीमित थिए र राज्यशक्तिको पहुँच केन्द्रित थियो । मुलुक नै काँग्रेसमय भएको बेला कष्टसाध्य प्रयासबाट पृथ्वीसुब्बा लगायतका पहिलो पुस्ताका नेताहरुले लमजुङमा संगठन निर्माण र विस्तार गरेका थिए । सोहीकारण आज लमजुङ लालकिल्ला बन्न सम्भव भएको हो ।
च्याँखे राजनीतिबाट टाढा
पृथ्वीसुब्बाले कहिल्यै ‘च्याँखे राजनीति’ गरेनन् । हार निश्चित देखिँदासमेत चुनाव लडे, पटक–पटक पराजित भए, तर फेरि धुलो टक्काउँदै उठे । २०५६ को चुनावमा सोतिपसलमा उनीमाथि काँग्रेस कार्यकर्ताहरुबाट भौतिक आक्रमण नै भयो । तर, पनि विचलित भएनन् । पार्टी विभाजित भएको बेला थियो, थोरै भोटले मात्र चुनाव हारे ।
चुनाव खर्च जुटाउन उनले बेसीशहरको दुई रोपनीभन्दा बढी जग्गा र पोखराको घडेरीसमेत बेचे । जसको मूल्य हिसाब गर्ने हो भने अहिले करोडौं पर्छ । हार्ने उम्मेदवारलाई चन्दा दिने संस्कृति थिएन, तर उनी पछि हटेनन् । त्यतिबेला अर्को क्षेत्रबाट उम्मेदवार बनेका लमजुङका पार्टी सचिव मायानाथ अधिकारीले बेसीशहरको भव्य घर नै बेच्नुपरेको थियो ।
सत्तामा हुँदा पनि पृथ्वीसुब्बाले परिवारलाई शक्ति दुरुपयोग गर्न दिएनन् । चार छोरी र एक छोरामध्ये एक छोरीले कहिलेकाहीँ सचिवालय सम्हाल्नु बाहेक कुनै लाभ लिएनन् ।
उपलब्धि र विरासत
उनसँग चुनाव लडेका अन्य पार्टीका धेरै नेताहरू आज राजनीतिमा छैनन् । जित्दा वा हार्दा पनि पृथ्वीसुब्बाले जनतासँगको सम्बन्ध कहिल्यै तोडेनन् ।
गत वर्ष पृथ्वीसुब्बाले जिल्ला कमिटी लमजुङको बैठकमा भनेका थिए– ‘म कहिल्यै सांसद, मन्त्री, मुख्यमन्त्री बन्छु भनेर लागिन् । जनताको अधिकारका लागि लागेको हो । धेरै हण्डर, ठक्कर, यातना, जेल, अपमान र हार पनि सहेँ । तपाईंहरु पनि बिचलित नभई लाग्नुस् !’ सँधै वैचारिक, तार्किक भाषण गर्ने उनी त्यो दिन केही भावुक थिए । उनीले बोलिरहँदा धेरैको अनुहार ओइलिएको फुलझैं भएको थियो, आँशु रसाएको थियो ।
उनी दुई पटक संघीय मन्त्री अनि एकपटक मुख्यमन्त्री भए । लमजुङ जनतासँग उनको सम्बन्ध केवल निर्वाचनको बेला सीमित रहेन । सडक, पुल, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद पूर्वाधारका सवालमा लमजुङको आवाज केन्द्रसम्म पुर्याउने काम उनले निरन्तर गरे । २०६४ सालमा उनी पर्यटन मन्त्री बन्दा विशिष्ट परिस्थिति थियो । जनआन्दोलनपछि बनेको सरकारलाई तत्कालिन चुनाव, शान्ति सुरक्षा र माओवादीको हतियार व्यवस्थापन मुख्य चुनौती थियो ।
संस्थापक मुख्यमन्त्री भएपछि संघियतालाई संस्थागत गर्दैमा उनको कार्यकाल बित्यो । यद्यपि मुख्यमन्त्री हुँदा उनले लमजुङप्रति देखाएको प्राथमिकता र अपनत्व स्थानीयस्तरमा अनुभुत गरिएको छ । मुख्यमन्त्रीको कार्यकालमा उनले सुरु गरेको एक घर–एक धारा, विद्युतीकरण लगायतका काम उत्कृष्ट थियो । अहिले लमजुङका हरेक घरमा धारा र बिजुली छन् । यो उनको देन हो । पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडक अहिले जसरी विस्तार भएको छ, यो उनकै पालामा आरम्भ भएको योजना हो । गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको कोरला नाकासम्मको सडक उनकै पालमा सुरु भएको थियो । पृथ्वीसुब्बाकै आग्रहमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यी योजनाहरुलाई प्राथमिकता दिएका थिए । लमजुङ-बेसीशहर सडक चौडा तीव्र गतिमा हुँदैछ, बेसीशहर चामे सडकमा पनि काम हुँदैछ । पूर्वी लमजुङ जोड्ने मस्र्याङ्दी नदीमा मोटरेवल पुल धेरै ठाउँमा बनेका छन्, कतिपय अझै पनि बन्ने क्रममा छन् ।
निष्कर्ष
पृथ्वीसुब्बाका कमजोरी नहोलान् भन्ने होइन । आत्मसमीक्षा गर्नुपर्ने पक्ष पनि अवश्य छन् । तर, एउटा तथ्य निर्विवाद छ- भुइँबाट उठेर राष्ट्रिय राजनीतिको शीर्ष तहसम्म पुगेको नेता आज लमजुङमा पृथ्वीसुब्बा गुरुङ बाहेक कोही छैन ।
छिमेकी जिल्लाका नेताहरू राष्ट्रिय राजनीतिमा चम्कँदा पनि लमजुङको पहिचान बोकेर उभिएका एकमात्र राष्ट्रिय नेता पृथ्वीसुब्बा गुरुङ नै हुन–आज पनि, र सम्भवतः निकट भविष्यमासमेत ।











प्रतिक्रिया