काठमाडौं । जेनजी उमेर समूहका युवा सुशान्त पौडेलले एक मार्मिक पत्र लेख्दै आफू आगामी फागुन २१ को निर्वाचनमा नेकपा (एमाले)लाई मतदान गर्ने निर्णयमा पुगेको बताएका छन् । उनले पत्रमार्फत आफ्नो पुस्ताले भोगेको पीडा, हिंसा र राजनीतिक प्रयोगप्रति चिन्ता व्यक्त गर्दै जेनजी आन्दोलनमा युवाहरुलाई प्रयोग गरिएको बताएका हुन् ।
पौडेलले भदौ २३ मा भएको हिंसात्मक घटनालाई स्मरण गर्दै निर्दोष युवाहरूलाई योजनाबद्ध रूपमा ‘ढाल’ बनाइएको उल्लेख गरे । भावनात्मक अन्धवेगमा युवालाई प्रयोग गरेर सत्ता कब्जाको खेल खेलिएको उनको निष्कर्ष छ ।
उनले आफूलाई ‘नयाँ’ भनेर चिनाउने केही पात्रहरूबीच देखिएको समीकरणप्रति प्रश्न उठाउँदै यसलाई देशलाई अर्को संकटतर्फ धकेल्ने संकेतका रूपमा व्याख्या गरेका छन् ।
पौडेलको पत्रमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका पूर्वमेयर बालेन साहप्रति कटाक्ष गर्दै उनीहरूलाई अवसरवादीको प्रतिनिधि भनिएको छ ।
“हाम्रा निर्दोष साथीहरूलाई योजनाबद्ध रूपमा मृत्युको मुखमा धकेलिएको रहेछ । ‘तिमीहरू स्कुल ड्रेसमै छौ, कसैले गोली हान्दैन’ भनेर झूटो आश्वासन दिइयो, र थाहै नदिई तिनीहरूलाई ढाल बनाइयो । अन्तर्राष्ट्रिय कानुनअनुसार राज्यका मुख्य संरचनामाथि आक्रमण गर्नु आतंकवाद मानिन्छ । यही जालमा फसाएर हाम्रा साथीहरूको रगत बगाइयो, ताकि पछि त्यसैलाई आधार बनाएर सरकारलाई अपराधी घोषणा गर्न सकियोस् । उनीहरूलाई थाहा थियो— त्यहाँ गोली चल्नेछ । उनीहरूलाई थाहा थियो— रगत बग्नेछ । हाम्रो पीडा उनीहरूको लागि केवल सत्ता कब्जा गर्ने फोहोरी खेलको साधन मात्र थियो ।” पत्रमा भनिएको छ, “आज फर्केर हेरौँ– हिजो नयाँ भनिएका रवि र बालेन कसरी हात मिलाउँदैछन् । के हाम्रा साथीहरूको बलिदान यी पात्रहरूलाई सत्तामा पुर्याउने भर्याङ मात्र थियो ? जब दुई अवसरवादी र अहंकारी पात्र एउटै मञ्चमा उभिन्छन्, बुझ्नुपर्छ– देश अर्को ठूलो दुर्घटनातर्फ धकेलिँदैछ ।”
पौडेलले संकटको समयमा देशलाई नेतृत्व दिनसक्ने शक्ति एमाले रहेको उल्लेख गर्दै नाकाबन्दी, महाभूकम्प, कोरोना महामारी र विभिन्न आन्दोलनहरूमा एमालेले खेलेको भूमिकालाई स्मरण गरेका छन् । पूर्वाधार विकास, सुरुङमार्ग, डिजिटल नेपालजस्ता पहल एमालेको उपलब्धि भएको उनको भनाइ छ ।
“हामीलाई यस्तो पार्टी चाहिएको छ, जसले नेपालको माटो सुहाउँदो मौलिक विचार बोकेको छस जसले पूर्वाधार, सुरुङमार्ग र डिजिटल नेपालको बलियो आधार तयार पारेको छ । र त्यो शक्ति केवल नेकपा (एमाले) मात्र हो ।” पौडेलले भनेका छन्, “हो, कमजोरीहरू होलान्, समस्याहरू छन् । तर यो एउटा जीवित र गतिशील संस्था हो– जसले आफूलाई समयको मागअनुसार सुधार्न र बदल्न सधैं तत्परता देखाएको छ । त्यसैले, यो फागुन २१ को निर्वाचन केवल भोट हाल्ने औपचारिकता मात्र होइन । यो विदेशी दलालहरूको साम्राज्य भत्काउने संकल्पको दिन हो ।”
उनले फागुन २१ को निर्वाचनलाई सामान्य मतदान नभई राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्ने दिनको रूपमा चित्रित गर्दै सूर्य चिन्हमा मतदान गर्न अपील समेत गरेका छन् ।
जेनजी पुस्ताका पौडेल गत फेब्रुअरीमा भारतको उडिसास्थित कीट युनिभर्सिटीमा नेपाली विद्यार्थीको आत्महत्यापछि सुरु भएको आन्दोलनको नेतृत्वकर्ता हुन् ।









प्रतिक्रिया