२९ आश्विन २०८३, बिहिबार

को हुन् सुनसरी–१ मा एमालेबाट उम्मेदवार बनेका टिकाराम लिम्बू ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी ।  विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्मको लामो अनुभव बोकेका नेता टीका माङ्लेन लिम्बू (टिकाराम लिम्बू)लाई नेकपा (एमाले)ले सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।

वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६)मा जन्मिएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनी पिता देउकुमार लिम्बू र माता सुनमाया लिम्बूका सुपुत्र हुन् । पारिवारिक जीवनमा उनकी धर्मपत्नी सीमा लिम्बू र छोरा अनुरो लिम्बू रहेका छन् ।

शैक्षिक रूपमा स्नातकोत्तर तहमा राजनीति शास्त्र र स्नातक तहमा कानुन (एलएलबी) अध्ययन गरेका लिम्बू विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेतृत्वमा स्थापित भएका हुन् । उनले २०५६ सालमा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयमा कक्षा ९ पढ्दादेखि अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि २०५८ सालमा महेन्द्र क्याम्पस, इलाम हुँदै धरानस्थित महेन्द्र क्याम्पसमा सक्रिय रहे ।

२०६० सालमा क्याम्पस कमिटी सदस्य बनेका लिम्बू २०६३ र २०६५ मा लगातार दुई कार्यकाल महेन्द्र क्याम्पस धरानको क्याम्पस कमिटी अध्यक्ष निर्वाचित भए । २०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य रहेका उनी २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष र २०६९ सालमा अनेरास्ववियु केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे ।

पार्टी राजनीतिमा २०६४ सालदेखि नेकपा (एमाले)का संगठित सदस्य रहेका लिम्बूले सोही वर्ष धरान–१० को वडा सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि २०६५ सालमा धरान नगर कमिटी सदस्य तथा २०६८ सालमा सचिवालय सदस्य रहे । २०७७ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी २०७८ को सातौं र २०८१ को आठौं जिल्ला अधिवेशनबाट सुनसरी जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै सामाजिक र स्वयंसेवी अभियानमा समेत सक्रिय रहेका लिम्बू २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियान तथा २०७३ सालको मेची–महाकाली अभियानमा राष्ट्रिय स्वयंसेवकका रूपमा खटिएका थिए । उनी लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य, किरात याक्थुङ चुम्लुङका सदस्य, ताप्लेजुङ–सुनसरी सरोकार समाज र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहेका छन् ।

२०६२/६३ को जनआन्दोलनका क्रममा हिरासत समेत बसेका लिम्बू लोकतान्त्रिक आन्दोलन, विद्यार्थी राजनीति र पार्टी संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

एमालेले सुनसरी–१ मा अनुभवी, शैक्षिक र संगठनात्मक पृष्ठभूमि भएको उम्मेदवारका रूपमा लिम्बूलाई अघि सारेको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा उनको उम्मेदवारीलाई स्थानीय राजनीति र युवा नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।