११ श्रावण २०८३, सोमबार

७७ वर्षपछि विश्व स्वास्थ्य संगठनबाट बाहिरियो अमेरिका, २७ करोड डलर नतिर्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया हिजो जनवरी २२ मा पूर्ण भएसँगै अमेरिका र संगठनबीचको ७७ वर्ष लामो साझेदारी अन्त्य भएको हो ।

दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले संगठनलाई बुझाउन बाँकी रहेको करिब २७ करोड डलर बक्यौता रकम समेत नतिर्ने अडान लिएको छ । कोरोना महामारीको समयमा संगठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै वासिङ्टनले यो कठोर कदम चालेको हो ।

अमेरिका बाहिरिएपछि डब्लुएचओले आफ्नो कुल बजेटमा ठूलो अभाव खेप्नुपर्ने भएको छ । यसको असरस्वरूप संगठनले कर्मचारी कटौती र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा २५ प्रतिशतले बजेट घटाउने तयारी गरेको छ ।

अमेरिकाले भने अब संगठनमार्फत नभई विभिन्न देशहरूसँग सिधै द्विपक्षीय समन्वय गरेर स्वास्थ्य सहायता उपलब्ध गराउने स्पष्ट पारेको छ । यसले नेपालजस्ता विकासोन्मुख देशका खोप अभियान र महामारी नियन्त्रण कार्यक्रममा दीर्घकालीन प्रभाव पार्ने जोखिम बढेको छ ।