काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेिक्ट्रशियनहरूका लागि सीप सुधार कार्यक्रम आधिकारिक रूपमा सुरु गरेको छ । शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमुलक कार्यक्रम सुरुमा काठमाडौंमा गर्न लागिएको र निकट भविष्यमै देशव्यापी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
सीप सुधार कार्यक्रम लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रिशियनहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसले कम्पनीले आफ्ना ग्राहकप्रति राखेको जिम्मेवारी र योगदानको प्रतिबिम्ब देखाउँछ । यस पहलमार्फत लिट्मसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित इलेक्ट्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताइएको छ ।
कम्पनीका अनुसार २० दिने तालिम कार्यक्रमले सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा ध्यान केन्द्रित गर्नेछ । यसमा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् । इलेक्ट्रिशियनहरूको दक्षता बढाएर सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यो तालिमसँग आबद्ध बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले संरचित, उद्योग–सम्बन्धित र मापदण्डयुक्त प्राविधिक शिक्षा सुनिश्चित गर्नेछ ।
कार्यक्रमको औपचारिक सुरुवात लिट्मस इन्डस्ट्रिजकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठबीच भएको हस्ताक्षर समारोहमार्फत गरिएको हो ।
समारोहमा बोल्दै लिट्मस इन्डस्ट्रिजकी निर्देशक गुप्ताले भनिन्, “यो पहल तालिम मात्र नभएर समाज र ग्राहकप्रतिको हाम्रो जिम्मेवारी हो । लिट्मस सधै आफ्ना ग्राहकसँग उभिएको छ र सधै उभिरहनेछ, शिक्षा र सीप विकासको यो कार्यक्रम मार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापनालाई प्रवद्र्धन गर्नेछ । काठमाडौंबाट सुरु गरिएको यो तालिम देशभर विस्तार गर्न पाउँदा हामी गर्वान्वित छौँ ।”
बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल श्रेष्ठले आफ्ना धारणा व्यक्त गर्दै भने, “लिट्मस इन्डस्ट्रिज लिमिटेडजस्तो प्रतिष्ठित कम्पनीसँग यो महत्वपूर्ण पहलमा सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यस कार्यक्रमले इलेक्ट्रिशियनहरूको सीप, व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा वृद्धि गरी समाजमा सकारात्मक प्रभाव पार्नेछ ।”









प्रतिक्रिया