धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । किसान सहकारीले आफ्ना शेयर सदस्यलाई छुट दिने गरी नसर्ग हस्पिटलसँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुट उपलब्ध गराउने भएको हो ।
निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बरबहादुर शाहले मंगलबार उपचारमा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । निसर्ग हस्पिटल धनगढीस्थित निजी क्षेत्रबाट सञ्चालित सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।
२०५२ सालमा स्थापनामा भएको कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान सहकारी सुदूरपश्चिमका नौ वटा जिल्ला र बर्दियाको राजापुर नगरपालिमा सेवा केन्द्र रहेको र ९३ हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारी हो ।
सामाजिक सेवाअन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमा छुटको सम्झौता गरेका हुन् । किसान सहकारीका विभागिय प्रमूख दीपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेडमा १२.५ प्रतिशत छुट बताए ।
त्यस्तै, जर्नरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् । सहकारीले आफ्ना बिरामी शेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ ।
यस अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए । आगामी दिनमा सदस्यलाई अन्य सेवाहरुमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरुसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ ।
हाल संस्थाले किसान–कोप वित्तिय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यवसायीक सेवाहरु सदस्यलाई दिँदै आएको छ । संस्थाको कुल कारोबार ७ अर्ब २० करोडको रहेको छ ।








प्रतिक्रिया