२९ आश्विन २०८३, बिहिबार

कालीकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कालीकोटमा चुनावी माहोल एकाएक फेरिएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)ले आफ्नो किल्ला ठान्दै आएको कालीकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीका लागि जीवन बुढाको उम्मेदवारी भारि हुनेछ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिँदैछ । नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले टिकट ल्याएपछि विवाद चुलिएको हो । शाही र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भइसकेका हुन् भने शाही २०७० सालदेखि निरन्तर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्दै आएका थिए ।

सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा भए पनि बुढालाई रोक्न शाहीले प्रचण्डलाई कालीकोटबाट चुनाव लडाउने भन्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए । प्रचण्डले रुकुम पूर्व रोजेपछि कालीकोटमा विवाद चुलिएको थियो । मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आएपछि बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सधै अरुलाई अवसरबाट बञ्चित गर्न खोज्ने प्रवृत्तीकोविरुद्व आफ्नो उम्मेदारी भएको बुढाले बताए । ‘यो पार्टीभित्रको अन्यायविरुद्वको आवाज हो’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउने खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो ।’

यस्तै, नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेस नेता भूपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा टिकट पाएका शाहीले यो पटक टिकट पाएनन् । कांग्रेसको आन्तरिक समीकरण फेरिएपछि पूर्वपार्टी सभापति हर्षबहादुर बमले टिकट पाएका छन् ।