–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको प्रतिष्ठित फुटबल प्रतियोगिता नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पूर्वमन्त्री स्व. नारदमुनि थुलुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको ११ औं संस्करण यही माघ १५ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।
बसाहा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा ए–डिभिजन क्लबसहित ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ १५ गते आयोजक बसाहा क्लब र यंग ब्रदर्स क्लब, इटहरी (सुनसरी) बीच हुनेछ ।

त्यसैगरी, माघ १६ गते साल्हेश युवा क्लब, सिराहा र दमक फुटबल एकेडेमी, झापा, माघ १७ गते न्यु त्रियुगा स्पोट्र्स क्लब, सप्तरी र नेपाल खेलकुद क्लब, रौतहटबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । माघ १८ गते एपीएफ क्लब, काठमाडौं र एलएक्स सिटी फुटबल क्लब, मोरङ आमनेसामने हुनेछन् ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू माघ १९ र २० गते सञ्चालन हुनेछन् भने फाइनल खेल माघ २२ गते हुने आयोजकले जनाएको छ । सबै खेलहरू नारदमुनि थुलुङ रंगशाला, बसाहामा आयोजना हुनेछन् र खेलहरू प्रत्येक दिन दिउँसो २ः०० बजेबाट सुरु हुनेछन् ।
प्रतियोगितालाई चौदण्डीगढी नगरपालिकाले सहयोग गरेको छ भने उदयपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ । आयोजक बसाहा क्लबले प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकास, खेलकुद प्रवद्र्धन तथा आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै खेलप्रेमी दर्शकहरूलाई रंगशालामा उपस्थित भई खेलको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया