भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आज मनोनयन दर्ता हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गरेका छन् । बस्नेतले जारी गरेको आह्वानमा यो निर्वाचन विकास र समृद्धिसँगै अराजक प्रवृत्तिविरुद्धको स्पष्ट राजनीतिक छनोट भएको उल्लेख गरेका छन् । उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले देश विकासको स्पष्ट मार्गचित्र दिएको बताउँदै भक्तपुरमा त्यसलाई अझ व्यापक रूपमा कार्यान्वयन गरिँदै आएको उल्लेख गरेका छन् ।
‘यसपटकको निर्वाचनको प्रमुख मुद्दा सिंहदरबार, सर्वोच्च अदालत, संसद् र देश नै जलाउने अराजक प्रवृत्तिविरुद्ध उभिनु हो,’ सचिव बस्नेतले भनेका छन् । उनका अनुसार देशको पुनर्निर्माण, राष्ट्रिय हितको संरक्षण र राजनीतिक स्थिरताका लागि आज पनि एमाले र अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य छ ।
बस्नेतले अराजकता र आपराधिक तत्त्वहरू राजनीतिमा हाबी हुँदै पपुलिस्ट प्रवृत्ति मौलाइरहेको वर्तमान अवस्थामा लोकतन्त्र, विधिको शासन र संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । साथै, उनले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको धारणा राखेका छन् ।
सचिव बस्नेतले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूसहित नेकपा (एमाले)लाई मतदान गरी बहुमत दिलाउन भक्तपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गरेका छन् । उनले राष्ट्रवादी र विकासवादी नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन मतदाताको समर्थन आवश्यक रहेको बताएका छन् ।









प्रतिक्रिया