३१ जेष्ठ २०८३, आइतबार

राप्रपा काठमाडौं–५ मा विवाद, केन्द्रीय सदस्य कार्कीले छोडे पार्टी

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वअध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् । उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देखिएको उनले आरोप लगाए ।

कार्कीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ को टिकट वितरणमा जुन प्रकारको स्वेच्छाचारिता देखाइयो, त्यसले पार्टीको विधि र युवा नेतृत्वको मर्ममाथि ठूलो प्रहार गरेको छ । क्षेत्रीय कमिटीले म हिक्मतजंग कार्कीसहित नविन खड्का, हेमजंग गुरुङ लगायतका युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दागर्दै सबैलाई पाखा लगाएर ९ पटक मन्त्री भइसकेका र भर्खरै पार्टीमा निसर्त आएको दाबी गर्ने कमल थापालाई टिकट दिनुले अध्यक्षको नियत प्रष्ट पारेको छ ।’

उनले राप्रपा हिन्दुराष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको मूल एजेण्डा बोकेको ऐतिहासिक पार्टी भए पनि पछिल्लो समय नेतृत्वको अदूरदर्शिताका कारण पार्टी कमजोर बन्दै गएको उल्लेख गरेका छन् । गत महाधिवेशनमा युवा पुस्ताको अपेक्षासहित लिङ्देनलाई नेतृत्व सुम्पिए पनि ती अपेक्षा पूरा नभएको उनको भनाइ छ । उनले संसदीय राजनीतिमा असफल भइसकेका नेतालाई अघि सार्नुले पार्टीको भविष्यमा नकारात्मक असर पर्ने दाबी समेत गरेका छन् ।

कार्कीका अनुसार चैत्र १५ को आन्दोलनका क्रममा ‘इन्टरनेशनल डेमोक्रेटिक युनियन’बाट राजसंस्थाको पुनस्र्थापनाको पक्षमा जारी वक्तव्यको ड्राफ्ट र लबिङ प्रक्रिया उनको पहलमा भएको थियो । तर नेतृत्वले अरूको योगदानमाथि आफ्नो नाम चम्काउने र एजेण्डाविपरीत शक्तिसँग सम्झौता गर्ने प्रवृत्ति देखाएको आरोप उनले लगाए ।

पार्टीभित्र गुटबन्दी र दोहोरो चरित्रको नेतृत्वमा रहेर देश र जनताको सेवा गर्न नसकिने निष्कर्षसहित कार्कीले अब कुनै पनि दलको घेराभित्र सीमित नभई युवाको भावना र ‘जेनजी’ आन्दोलनको मर्मअनुसार स्वतन्त्र रूपमा अघि बढ्ने घोषणा समेत गरे ।